तराई–मधेस क्षेत्रका महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । जितिया पर्वको तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो ।
यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी÷सखर, भिजाएको केराउ, दही(च्युरा) कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।
प्रतिक्रिया