नेताका आसेपासे राज्यकोषबाटै निर्वाध विदेश, अरुलाई ‘भिसा नो’ !

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ७ ०८:१९ बजे

काठमाडौं । विदेशमा हुने कार्यक्रममा नेपाली जम्बो टोली जाने र सेटिङ मिलाएर आफ्ना मान्छे लैजाने प्रवृति परम्परा जस्तै बन्न पुगेको छ । अन्तर्राष्ट्रिय मञ्चमा जानेहरुको योग्यता क्षमता र दक्षताभन्दा पनि विदेश सयर गर्न चाहने दल नजिकका हुने हुनाले पनि स्थिति भयावह बनिरहेको छ । यस्तोमा सांसदहरुले नै विदेशका कार्यक्रममा पठाउदा नै सीमितलाई अनुमति दिने गरि अघि बढ्नुपर्नेमा जोड दिन थालेका छन् । 

विदेशमा हुने कार्यक्रममा जानेहरुको संख्या जम्बो हुन्छ । अहिले प्रधानमन्त्री केपी ओलीदेखि परराष्ट्रमन्त्रीसहित मन्त्रीहरु र त्यसमा जम्बो टोली विदेशमा छ । मुलुकको खर्चमा विदेश जानेहरुले नेपाललाई कस्तो लाभ दिन सक्छन् रु नेपालको अन्तर्राष्ट्रिय छवी निर्माणमा कस्तो योगदान दिन सक्छन 

यस्ता तमाम प्रश्नको जवाफ भने खोजिन्न तर, दलका नेता, कार्यकर्ता र आफ्ना मान्छेलाई राज्यको ढुकुटी दोहन गर्दै विदेश सयर गराइन्छ । यस्तो स्थितिले नेपालले धेरै पटक भीसा नपाउनेदेखि अन्य समस्याहरु देखिने गरेका छन् । 

त्यसैले पनि राष्ट्रियसभाका सदस्यहरुले विदेश जानेहरुको संख्या सीमित गर्नुपर्ने आवाज संसदको समितिमा उठाइरहेका छन् । जथाभावी विदेश पठाउने र घुम्न रमाउने प्रवृत्तिले फाइदा नगर्ने भन्दै माओवादी केन्द्रका सांसदहरुले यो विषयमा आवाज उठाएका छन् । 

सांसदहरुले कोप २९ मा जानेहरुको सूचीबारेको छलफलमा आवश्यकतालाई केन्द्रमा राखेर बाहेक विदेश पठाउन नहुनेमा जोड दिइरहेका छन् । तर, प्रधानमन्त्री ओलीकै अमेरिका भ्रमणदेखि अन्य भ्रमणमा जानेहरुको अनुहार हे¥यो भनेमात्रै पनि कस्ता व्यक्तिहरुले अमेरिका पाइला टेकेका छन् भन्ने विषय प्रष्ट हुन्छ । 

नेता कार्यकर्तालाई राज्यको ढुकुटी रित्याएर विदेश सयर गराउने राजनीतिक चलन र बेप्रवाह ढंगले विदेशमा खर्चिनका लागि जम्बो प्रतिनिधिमण्डल विभिन्न नाममा लैजाने सिलसिलाका कारण पनि नेपालको अन्तराष्ट्रिय छवी धुमिल बन्दै गएको छ भने कतिपय स्थानमा भीसा नै दिन आनाकानी गरेका खबरहरु बाहिरिने गरेका छन् । 

उपसभामुख प्रकरणको झल्को

उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई अमेरिकाका लागि भीसा अन्तरवार्ताको समय मिलाइदिन गरेको पत्राचारबारे जमेर विरोध गर्ने राजनीतिक दल र नेताहरुले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमणमा कस्ता अनुहारहरु पुगे रु यसको समेत लेखाजोखा गर्न थालेका छन् । 

ओली नेतृत्वको नेकपा एमालेका भातृ संगठनका अनुहारहरु संयुक्त राष्ट्रसंघको कुन कार्यक्रमका लागि अमेरिका पुगे रु प्रश्नहरु सतहमा सोध्न थालिएको छ । यद्दपी, विदेशमा जाँदा सरकारको नेतृत्वमा रहेकाहरुले जथाभावी जम्बो टोली निर्माण गर्ने र जाने क्रमले राज्य नोक्सानीबाहेक केहि देखिन्न । तर, यस्ता व्यक्तिहरुले सुशासनको पक्षमा भने चर्को आवाज उठाउने नैतिक धरातल गुमाउन थालिसकेका छन् । उपसभामुख रानाले जस्तै विदेश भ्रमणमा अनैतिक काम गर्दा राष्ट्रले क्षति व्यहोरिरहेको छ ।

गिर्दो साखले भीसा अस्वीकृत

केहि समय पहिले चेस संघका खेलाडीहरुको भीसा अस्वीकृत भयो । चेसका अध्यक्षसहितको जम्बो टोली हंगेरीको बुढापेस्टमा ४५ औं ओलम्पियाडमा सहभागी नै हुन पाएन् । 

शंकास्पद ढंगले जम्बो टोली निर्माण गर्दै हंगेरी जान खोजेका चेसका पदाधिकारी र असम्बन्धित व्यक्तिका कारण खेलाडीले खेलमा सहभागीता नै जनाउनबाट बञ्चित हुन पुगे । यस्ता घटनाहरु बारम्बार हुने गरेका छन् । कलाकारहरुको स्थिति पनि यो भन्दा फरक देखिन्न । भीसा आवेदन दिने तर अस्वीकृत हुने घटनाहरु छ्यापछ्याप पाइन्छन् ।


उसोतः एउटा प्रयोजनमा विदेश लगेर उतै मान्छे छाड्ने र मानव तस्करी गर्ने घटनाका कारण पनि नेपाल जटिल मोडमा पुगेको छ । यस्तो स्थिति रोक्न राजनीतिक दल, सरकार र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ । जथाभावी विदेश सयर गर्ने र राष्ट्रलाई योगदान दिन नसक्नेलाई सरकारले अनावश्यक विदेश जानलाई स्ट्याम्प लगाउने काम बन्द नगरे स्थिति थप भयावह नहोला भन्न सकिन्न । 



२०८१ असोज ७ ०८:१९ बजे

प्रतिक्रिया