भूतपूर्व भारतीय गोर्खा सैनिक र तिनका परिवारलाई भारतीय रुपैयाँ १५ लाख दिने घोषणा सकारात्मक : विगेसो

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ २३ २०:१४ बजे
विगेसो अध्यक्ष पदम सुन्द्रर लिम्वु

काठमाडौं । भारत सरकारले सन् १९६५ र सन् १९७१ को युद्धमा लडेका र भारतीय सेनामा सेवा गरेका तथा समर सेवा स्टार, पूर्वी स्टार, र पश्चिमी स्टार मेडल प्राप्त गरेका भूतपूर्व भारतीय गोर्खा सैनिक र तिनका परिवारलाई भारतीय रुपैयाँ १५ लाख दिने घोषणा गरेकोछ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो)का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्बुले एक बक्तब्य प्रकाशित गरी भारत सरकारको त्यस घोषणालाई सकारात्मक रुपमा हेरेको बताएका छन ।

यो उपलब्धिलाई बिगेसोले आफ्नो कानुनी लडाईको परिणाम ठानेकोछ । त्यस प्रकारको सुविधा चीन युद्ध, कार्गिल युद्धमा लडेका तथा सिङ्गापुर पुलिस,बृटिश आर्मीमा काम गरेका भूतपूर्व गोर्खा सैनिकहरूले पनि प्राप्त गर्नु पर्ने दाबी बक्तब्यमा उल्लेख छ । बिगेसोका केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्बुले २०८१ भाद्र १७ गते जारी गरेको बक्तब्यको पूर्ण पाठ यस प्रकार छ –

“ १ – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन  (बीगेसो) भारत सरकारले सन् १९६५ र सन् १९७१ को युद्धमा लडेका र भारतीय सेनामा सेवा गरेका तथा समर सेवा स्टार, पूर्वी स्टार, र पश्चिमी स्टार मेडल प्राप्त गरेका भूतपूर्व भारतीय गोर्खा सैनिक र तिनका परिवारलाई भारतीय रुपैयाँ १५ लाख दिने घोषणा गरेकोमा त्यसलाई सकारात्मक रुपमा हेरेको छ ।

२- बीगेसोले यस घोषणालाई सन १९४७ मा नेपाल, भारत र संयुक्त अधिराज्य (यू.के.) सरकारबीच हस्ताक्षर भएको गोर्खा भर्तीसम्बन्धी त्रि–पक्षीय सम्झौताको खारेजीका लागि बीगेसोका अध्यक्ष श्री पदमसुन्दर लिम्बूद्वारा नेपालको सर्वोच्च अदालतमा दायर गरेको रीट निवेदनका सम्बन्धमा अदालतले जारी गरेको फैसला सहितको निर्देशनात्मक आदेशको परिणामस्वरूप प्राप्त भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

३- बीगेसोले भारतीय सेनामा सेवा गर्ने र सन् १९६२ को भारत–चीन युद्ध, सन १९८७ को श्रीलंकाको जाफ्नाको अपरेसन पवन र सन १९९९ को कारगिल युद्धमा लडेका, ज्यान गुमाएका, घाइते भएका र मेडल प्राप्त गरेका भारतीय गोर्खा र तिनका परिवारहरूलाई समेत युद्ध सम्मान योजना अन्तर्गत समावेश गरिनु पर्दछ र भारत सरकारद्वारा घोषित उक्त रकम प्रदान गर्नका लागि जोडदार रुपमा माग गर्दछ ।

४- बीगेसोले सिंगापुर पुलीस फोर्स (एसपीएफ) अन्तर्गत रहेका गोर्खा कन्टिन्जेन्ट (जीसी) का गोर्खाहरूको निवृत्तीभरण (पेन्शन) र रिटायर्ड गोर्खा अलावन्स (आरजीए) मा भएको बढोत्तरीलाई आफ्नो निरन्तर कानूनी लडाइँको आंशिक उपलब्धि रूपमा लिएको छ ।

५- बीगेसो संयुक्त अधिराज्य (यू.के.), भारत, सिंगापुर र ब्रुनाईमा सेवारत गोर्खाहरूले सामना गर्नु परेका विभेद र असमानता विरुद्धको आन्दोलनमा दृढ संकल्पित रहेको छ । हामीले आफ्नो लामो र कठिन संघर्षको क्रममा प्राप्त भएका यसप्रकारका आंशिक उपलब्धिहरूलाई सकारात्मक रूपमा लिएका छौं ।

६-गोर्खा भर्तीका नाममा नेपालको राष्ट्रिय स्वाभीमानमा गम्भिर आँच पुरयाउने असमान राष्ट्रघाती त्रि–पक्षीय सम्झौताका साथै गोर्खाहरूमाथि व्यवस्थितरुपमा भइरहेको विभेद र शोषणका विरुद्ध हामी अन्तिम क्षणसम्म संघर्षतरत रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”






२०८१ भदौ २३ २०:१४ बजे

प्रतिक्रिया