ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ १९ १४:०७ बजे

भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ । “पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, कठेतले भने, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु १५० मा बिक्री हुने उनको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताए । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।

ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ । किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताए । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उनको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनको भनाइ छ । गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताए । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उनको भनाइ छ ।

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उनले जानकारी दिए । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।




२०८१ भदौ १९ १४:०७ बजे

प्रतिक्रिया