युद्धरत मुलुकमा श्रमिक पठाउने निर्णय फिर्ता लिन मजदूर संगठनको माग

bimbonline बिम्ब अनलाइन
२०८१ साउन २३ १०:०१ बजे

सबै मजदूर संगठनहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले प्रेस विज्ञप्ति जारी गरी युद्धरत मुलुकमा श्रमिक पठाउने निर्णय फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आग्रह गरेको हो। मन्त्रालयले केयर गिभरका रूपमा दुई हजार श्रमिकलाई इजरायल पठाउने निर्णय गरेको छ।

यसअघि एक हजार श्रमिक पठाउने तय भएको थियो। नयाँ श्रममन्त्री शरतसिंह भण्डारी आएसँगै दुई हजार श्रमिक इजरायल पठाउने सहमति गरेका छन्। त्यस्तै, मन्त्रालयले अफगानिस्तानमा पनि श्रमिक पठाउने सहमति गरेको छ।श्रमिक पठाउने सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समन्वय केन्द्रले विरोध जनाएको छ। विशेष गरेर इजरायलमा श्रमिक पठाउने सहमति मानवतामाथिकै अन्याय भएको उल्लेख गरेको छ।

केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनन् गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरको संख्या बढाउने सहमति भएको छ। रोजगारीको नाममा जानी जानी युद्धरत मुलुकमा श्रम स्वीकृति गर्दै श्रमिकहरूलाई पठाउनु मानवतामाथिको घोर अन्याय हो।’

इजरायलमा पढाइका लागि गएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था लामो समयदेखि पत्ता लगाउन नसकेको अवस्थामा त्यही मुलुकमा श्रमिक पठाउनु उचित नभएको केन्द्रले जनाएको छ। रूस-युक्रेन युद्धमा कैयौं नेपालीको ज्यान गएको, रूसमा रहेका नेपालीलाई फर्काउन नसकेको अवस्थामा फेरि युद्धरत मुलुकमा श्रमिक पठाउनु उपयुक्त नहुने केन्द्रको ठहर छ।


२०८१ साउन २३ १०:०१ बजे

प्रतिक्रिया