राना समुदायमा ‘सावनको डोला’को रौनक

bimbonline बिम्ब अनलाइन
२०८१ साउन १० १४:२७ बजे

कञ्चनपुर। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ।राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन्। सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ। राना थारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ।

तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’ को रौनक छाउँछ। परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन्। यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन्।

भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला पिङ हाल्न सुरु गरेको बताए। हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ उनले भने, तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ। उनले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए।

राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको स्थानीय राजमती रानाले बताए। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले बताए। राना समुदायका पर्वहरू पुस्तान्तरण हुन सकेका छैनन्।

समुदायका जानकार सेटसिंह रानाले भन्ने बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका छन्। उनले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताए। अहिलेका युवालाई यसप्रति चासो छैन, धेरै रोजगारीका लागि बाहिर छन्, एक महिनासम्म मनाउने यो पर्व कम थालेको छ। उनले भने, हाम्रा परम्पराहरू अन्य समुदायको भन्दा पृथक छन्, यसको पुस्तान्तरण हुनु जरुरी छ।रासस


२०८१ साउन १० १४:२७ बजे

प्रतिक्रिया