त्रिसुलीमा वेपत्ता यात्रु र बसको अवस्था अझै अज्ञात, विदेशी प्रविधि ल्याएर खोजिने

bimbonline बिम्ब अनलाइन
२०८१ असार ३२ ०६:३२ बजे

चितवन । शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा झण्डै ६५ यात्रुसहित बेपत्ता दुई बस अझै पत्ता लाग्न सकेको छैन । यात्रु र बसको खोजीमा सेना, प्रहरी, शसस्त्र लगातार लागिरहेका छन् । 

गृहसचिव एकनारायण अर्याल तथा दुवै प्रहरी संगठनका प्रमुख समेत घटनास्थल पुगेर खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । खोजी कार्य तीव्र रहेपनि आशातित परिणाम आउन सकेको भन्दै सरकारसँग नागरिक रुष्ट छन् । 

चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य जारी छ  । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्यलाई तिव्रता दिइरहेका छन् । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेका छन् भने अहिलेसम्म ६ जनाको शव भेटिएको छ । 

अझै ५६  जनाको अवस्था अज्ञात रहेको छ । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहितको टिमले पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गर्दै खोजी कार्यलाई तिव्रता पार्न निर्देशन दिएका छन् । गृहसचिव अर्यालले पानीको सतह घट्दै गएपछि विदेशबाट आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । 

घटनास्थल पुगेका यातायात व्यवसायी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले तत्काल राहतका प्याकेज घोषणसगैँ छानविन समिति गठन गर्न माग गरेका छन् । 

सिमलताल क्षेत्रमाथि जथाभावी बाटो बनाउदा पहिरो गएको र यो विषयमा समेत छानविन गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले बेपत्ता नागरिकको खोजि कार्यमा तदारुकता नदेखाएको नागरिकस्तरमा गुनासो बढ्दै गएको छ । 

अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरुको खोजि कार्य प्रभावित बनिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए । गोताखोर टोलीले प्रयोग गर्ने सामग्रीहरु एउटै हुने भन्दै विदेशको गोताखोर टोली आउँदैमा नतिजा निस्किहाल्ने भन्ने नहुने प्रवक्ता न्यौपानेले जिकिर गरे ।  

६ वटा शवहरु करिव ५५÷६० किलोमिटरको फरकमा फेला परेको छ भने र बसको अवस्था अझै अज्ञात छ । रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस जस्ता तीन वटै उपायको प्रयोग गरेर बेृपत्ताको खोजी भइरहेको छ । 



२०८१ असार ३२ ०६:३२ बजे

प्रतिक्रिया