असार सकिनै लाग्दा ३८ प्रतिशत मात्रै सकियो रोपाइँ

bimbonline बिम्ब अनलाइन
२०८१ असार २५ १३:५३ बजे

काठमाडौं। असार सकिनै लाग्दा देशैभर जम्मा ३८ प्रतिशत मात्रै रोपाइँ सकिएको छ। असार २३ गतेसम्मको कृषि विभागको तथ्यांक अनुसार देशैभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ।यो चालू वर्षको अनुमानित कूल रोपाइँ क्षेत्रको ३८.६ प्रतिशत हो। यो वर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ। जसमध्ये असार २३ गतेसम्म ५ लाख ३९ हजार ७६६ हेक्टर रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।

गत वर्ष असार सोही अवधिमा देशभर ४२ प्रतिशत रोपाइँ सकिएको थियो। गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर अनुमानित धान रोपाइँ क्षेत्र रहेको थियो। जसमध्ये यस अवधिमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो। सो अवधिमा सुदूरपश्चिममा ९४ हजार ६९९ रोपाइँ सम्पन्न भएको छ। प्रतिशतका हिसाबमा भन्ने हो भने यो ५४.२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। यो वर्ष सुदूरपश्चिममा कूल १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ।

मधेश प्रदेशमा सबैभन्दा कम धान रोपाई भएको विभागको तथ्यांकमा उल्लेख छ। असार २३ गतेसम्म मधेसमा २५ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्ष मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।यस्तै, कोशी प्रदेशमा यो वर्ष २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। जसमध्ये असार २३ गतेसम्म ९५ हजार १७० हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको हो। प्रतिशतका हिसाबमा यो ३४.४ प्रतिशत मात्रै रोपाइँ भएको तथ्यांकमा उल्लेख छ।

बागमती प्रदेशमा ४० प्रतिशत रोपाइँ सकिएको छ। यो वर्ष बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। जसमध्ये हालसम्म सो प्रदेशमा ४६ हजार ४४ हेक्टरमा रोपाइँ भएको विभागले जनाएको छ।यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टर अनुमानित रोपाइँ क्षेत्र रहेको छ। जसमध्ये हालसम्म ४७ हजार ७३३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। यो कूल अनुमानित रोपाइँ क्षेत्रको ४९.७ प्रतिशत हो।


२०८१ असार २५ १३:५३ बजे

प्रतिक्रिया