अविरल वर्षाका कारण सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने राजमार्ग ठाउँ -ठाउँमा अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०८१ असार २४ १५:२५ बजे

डडेल्धुरा। अविरल वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध भएको छ । बझाङ र बैतडीको सीमानजिक पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अन्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन् । पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय धनगढीका अनुसार बझाङको तमेलमा पहिरो गएको छ । यस्तै, जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध दार्चुलाको शैलेशिखर नगरपालिका –६ पर्नेवासमा पहिरो गएको छ ।

खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको छ । बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ । पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका –९ बाजपानीमा पनि पहिरो गएको प्रहरीको भनाइ छ । यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ रुवाखोलामा पनि पहिरो गएको छ । रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको छ । डडेल्धुराको अनारखोलीमा रुख खसेको छ । रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ । डडेल्धुरा साहुखर्कमा पहिरोका कारण सडक अवरुध्द भएको छ।

अछामको साँफेबगर नगरपालिका –१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउने काम भइरहेको र डडेल्धुराको अनारखोलीमा अवरुद्ध सडक बैतडीमा अवरुद्ध सडक सुचारु भइसकेको छ । सडक अवरुद्ध भएका ठाउँमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । लगातार भारी वर्षा भइरहेकाले अझ बाढी पहिरोको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीले अपिल गरेका छन् ।



२०८१ असार २४ १५:२५ बजे

प्रतिक्रिया