मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै

bimbonline बिम्ब अनलाइन
२०८१ असार २२ ०८:१३ बजे

झापा । झापामा मानव–हात्ती द्वन्द वर्षौँदेखि निरन्तर छ । भारतबाट ठूलो संख्यामा जंगली हात्ती नेपाल प्रवेश गर्दा सिमावती क्षेत्र बाहुण्डाँगी लगायत जिल्लाको अधिकांश पालिकाका स्थानीय वर्षौँदेखि जङ्गली हात्तीबाट पीडित हुदैँ आइरहेका छन्  । त्यसो त, थुप्रै जंंगली हात्ती समेत मानिसबाट पीडित छन् । मानव–हात्तीबीचको जारी द्धन्द्ध घट्नुको साट्टो अझ बढ्ने क्रममा छ । 

झापामा हात्ती आतंक पुरानै समस्या हो । झापाको मेचीनगर, बुद्धशान्ती, भद्रपुर, विर्तामोड, हल्दिबारी, कनकाई, कमल लगायत क्षेत्रका वासिन्दा वर्षौँदेखि हात्तीको उपद्रोले आजित छन् । २०७० सालदेखि यता एक दशकमा मात्रै हात्तीको आक्रमणबाट झापाका विभिन्न स्थानमा ४४ जनाको ज्यान गएको छ भने सयौं मानिसहरु घाइते भएका छन् । हुनत, हात्तीले दिने पीडा मानिसलाई मात्रै छैन, मानिसले दिने पीडापनि हात्तीलाई छ । 

त्यस्तै मानिसकै विभिन्न क्रियाकलापले १५ वटा जंगली हात्तीले समेत ज्यान गुमाएका छन् । यस आर्थिक वर्ष २०८०÷८१ को असार तेस्रो हप्ता सम्ममा मात्रै झापामा मानव हात्ती द्वन्द्वका क्रममा ६ जना मानिस र ४ वटा जंगली हात्तीले ज्यान गुमाएका छन् । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मार्ने गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबार तथा चोरी तस्करीको हातहतियारमा परेर हात्तीको ज्यान जाने गरेको छ ।

हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन त्यस्तै हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । मेचीनगर ३ मा गत असार १४ गते बिहान मात्रै पनि एक १० बर्षिय पोथी हात्ती मारिएको अवस्थामा भेटिएको थियो । 

झापामा अहिले पनि मानव–हात्ती द्वन्द चलिरहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न डिभिजन वन कार्यालय झापा लागि परिरहेको छ । सुरक्षित बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । त्यस्तै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार हात्ती लगायत दुई दर्जन बढी जंगली जनावर संरक्षित सूचीमा छन् । तसर्थ मानव–हात्ती द्वन्द्ध न्यूनिकरणलाई प्राथमिकतामा राख्दै मानिसको धनजनको सुरक्षा तथा हात्ती संरक्षण गर्न राज्य गम्भिर भएर लाग्नुपर्ने देखिन्छ । 




२०८१ असार २२ ०८:१३ बजे

प्रतिक्रिया