बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।गाउँमा सिँचाइको अभाव तथा खडेरीका कारण धमाधम धानको बेर्ना सुक्न थालेपछि यहाँका स्थानीयलाई खेत बाँझो रहने चिन्ता पर्न थालेको छ ।
असार महिनामा रोप्ने गरी वैशाखमा राखेको धानको बउि खडेरीले सुक्न थालेपछि यति बेला खेत बाँझो रहने परेको जगनाथ गाउँपालिका –२ किसान भीर्कु सार्कीले बताउनभुयो ।उहाँले भन्नुभयो, “ समयमा वर्षा नहुँनु तथा गाउँमा भएका पानीका मुहान पनि विस्तारै सुक्न थालेपछि धमाधम धानको बीउ सुक्दै गएका छन् ।”
धारा र कुवाको पानीको जोहो गरेर वैशाखमा राखेको धानको बिउ असार नलाग्दै सुकेर नष्ट भएपछि अब खेतमा के लगाउने निकै चिन्ता परेको सार्कीले बताउनुभयो ।लामो समय सम्म पानी नपर्दा जगनाथ गाउँपालिका–२ हुनी र लुमाका स्थानीयले राखेको कोदो र धानको बिउ सुकेर नष्ट भएका छन् ।यहाँका स्थानीयले असार खेतमा धान रोप्न तथा साउनमा कोदो रोप्ने गरी वैशाखमा कोदो र धानको बिउ राख्ने गर्दछन् ।
हुनी र लुमाका झण्डै ३८० जना घरपरिवारले राखेको धान र कोदोको बिउ खडेरीका कारण सुकेर नष्ट भएपछि गाउँमा भोकमरी हुने सम्भावना छ ।यहाँका स्थानीयलाई धान र कोदोको खेतीले ६ महिना खान पुग्थ्यो । यती बेला कोदो धानको बिउसमेत सुकेर खेत बाँझै रहने भएपछि गाउँमा भोकमरी हुने सम्भावना देखिएको जगनाथ गाउँपालिका –२ स्थानीय बीसु सार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो, “हिउँदमा हिउँ नपर्दा गहुँ जौ सुक्या अहिले पानी नपर्दा खडेरीले धान र कोदोको बिउ सुक्यो । अनि कसरी जिउ जोगाउँनु ।”गाउँमा सिँचाइ नहुनु र आकाशबाट पानी पनि नपर्दा धान र कोदोको बिउ सुक्दै गएपछि हुनी र लुमामा रहेको झण्डै हजारौं रोपनी जमिन बाँझो रहने चिन्ता परेको सार्कीले बताउनुभयो ।
बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइ सुविधा छ । यहाँको ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ ।यहाँको दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गोर्खापत्र अनलाइन वाट
प्रतिक्रिया