चीनका न्यायधीस नेपालमा

bimbonline बिम्ब अनलाइन
२०८१ असार ७ ०८:०५ बजे

काठमाडौं । पछिल्ला दिनहरुमा चीनले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणलाई तीव्रता दिइरहेको  छ । भ्रमणको विस्तारमा आक्रामक देखिन्छ, चीन । चीनका नीतिहरु प्रति बलियो प्रतिबद्धता र थप विश्वासको वातावरणका लागि चीनले नेपालमा कूटनीतिक सक्रियता बढाएको देखिन्छ । 

चीनको नेपाल चासोमा पुनः चर्चा चुलिएको छ, चीनको सर्वोच्च जनअदालतको न्याय निर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङको नेपाल  भ्रमणले । पछिल्ला वर्षहरुमा चीनमाथि एक चीन नीतिलाई जोगाई राख्ने चुनौति थपिदै गएको छ । तिब्बतप्रति भारतको रणनीति अनि ताइवानसँग अमेरिकी सम्बन्धले एक चीन नीतिमाथि चुनौति थपिएको विश्व राजनीतिका विश्लेषकहरुले बताउने गरेका छन् ।

त्यसैले पनि चीन अन्य मुलुकसँग एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउनका लागि कूटनीतिक अभ्यासमा सक्रिय छ । यही अवस्थाका बीच कूटनीतिक अभ्यासबाट राजनीतिक सन्तुलनता बढाउनकै लागि प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले गएको आइतबार शिष्टाचार भेट गरेका थिए । 

यस अघि पनि निरन्तर उच्चस्तरीय भेटवार्ता चलिरहेकै थिए । अहिले फेरि चिनियाँ सर्वोच्च अदालतका न्यायाधीशले नेपालमा उच्चस्तरीय भ्रमण गरेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा नेपाल आएका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङले सर्वोच्चका न्यायाधीशसँग समेत भेटवार्ता गरे । 

सर्वोच्चमा भेटवार्तापछि उनले कानूनमन्त्री पदम गिरीलाई समेत भेटेका छन् । भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरे । नेपाल र चीनबीच सदियौंदेखि रहि आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्त गरेको बताइएको छ । यस्तै, मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीतिप्रतिको नेपालको प्रतिवद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरेको बताइएको छ ।


२०८१ असार ७ ०८:०५ बजे

प्रतिक्रिया