हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ । हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भन्नुभएको छ, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।” साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उहाँले औँल्याउनुभएको छ ।
देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।” वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको पाइएको छ ।
सफाइ र स्वच्छता चुनौती
वातावरण सफा राख्नु भनेको वरिपरि सफा राख्नु र हावाको स्वच्छ पार्नु हो भन्ने सबैलाई थाहा भएकै कुरा रहेको विभागका महानिर्देशक भूपाल बराल बताउनुहुन्छ । उहाँका अनुसार विभागले पनि वातावरण संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गरेर वातावरण शिक्षा विद्यालय तहसम्म पुर्याउन सघाइरहेको छ तर वातावरण संरक्षण मानिसको जीवनसँग अत्यन्त जोडिएको छ ।
त्यसैले यो स्वच्छता हाम्रा लागि जरुरी हो भन्ने विषय नबुझेको पाइएको उहाँ औँल्याउनुहुन्छ । उहाँले भन्नुभए जस्तै वन, वातावरण संरक्षणसँगै पछिल्लो समय जलवायु परिवर्तनलगायतका विषयका सैद्धान्तिक ज्ञान विद्यालय शिक्षाका पाठ्यक्रममा छ । त्यही पढेर फोहोर गर्नु हुँदैन, रुख रोप्नु पर्छ, जलवायु परिवर्तनले असर पारिररहेको छ भन्ने जस्ता कुरा नयाँ पुस्ताका बालबालिकासहित सबैले पढेरै थाहा पाइरहेका देखिन्छन् । त्यसको व्यावहारिक उपयोगको पाटोमा भने ज्ञान दिने र लिने दुवैथरी कमजोर रहेको उहाँले स्वीकार गर्नुभयो ।
महानिर्देशक बरालले भन्नुभयो, “जहाँ पायो त्यहीँ फोहोर फाल्नु हुन्न, नदीमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी नभएर फालेका हैनन्, फालेर केही हुन्छ र भन्ने अर्को अज्ञानता जानी जानी अँगालिरहेका छन् ।” सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा आत्मसात् गर्न व्यक्ति, घरपरिवार र समुदायले नसकेको दाबी उहाँ गर्नुहुन्छ ।
उहाँले जस्तै वातावरण निरीक्षक गोविन्द लामिछानेले पनि वातावरण भनेर अभौतिक हावा, पृथ्वी, पानी आदिसँग मात्र बढी जोडिने गरेको पाइएको बताउनुभयो । वातावरण शिक्षाको सैद्धान्तिक ज्ञानले फोहोर वा प्रदूषणले तिनै तत्वमा बढी असर गर्छ भनेर जोड दिने गरिएको छ । उहाँ भन्नुहुन्छ, “वातावरण भनेको मानिसको जीवन र जीविकासँग जोडेर हेर्नु पर्छ र त्यही अनुसार असर पर्छ भनेर सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनु जरुरी छ ।” जुन हुन सकेको पाइँदैन ।
सैद्धान्तिक ज्ञान पढेको धेरै वर्षपछि आफ्नो जीवन र समाजमा असर परेपछि मानिसले बल्ल बुझ्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । वातावरण शिक्षा प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक सिकाइको अभ्यासलाई सामेल गर्न जरुरी भइसकेको उहाँले बताउनुभयो ।
धुवाँले कसरी फोक्सोमा असर गर्छ, रोग लाग्छ र ज्यान लिन्छ भन्ने तत्कालै सिकाउनु पर्छ । नदीमा फोहोर फाल्दा त्यही पानी कसरी घरको धारासम्म आइपुग्छ र मानव स्वास्थ्यमा असर पर्छ भन्ने पनि सिकाउनु पर्छ । वातावरण प्रदूषण र मानव जीवन एक सिक्काका दुई पाटा हुन् । एउटा दूषित भयो भने अर्को पनि दूषित हुन्छ भन्ने हेक्का समुदायमा पुग्न नसकेको उहाँले बताउनुभयो । महानिर्देशक बरालले थप्नुभयो, “आफैँबाट सुरु गरौँ भनेर तल्लो समुदायमा जोडिएका संस्थामा टोल, समुदाय, विद्यार्थीलाई थप क्रियाकलाप देखायो भने पक्कै व्यवहारमा आउँछ ।” गोरखापत्र अनलाइन
प्रतिक्रिया