अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २२ ०८:३७ बजे

डडेल्धुरा।  डडेल्धुरा  सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको  सालिक अनावरण गरिएको छ ।  बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो । 

अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्नुहुँदै किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको बताउनुभयो । “धेरैले बडाकाजी थापाको अनुहारसँग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका छन् ।” उहाँले भन्नुभो, “एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौँ ।” 

अङ्ग्रेजहरुसँगको लडाइ लड्न तयार भएको किल्लामा अमरसिंहको सेनाको फौज लामो समयसम्म बसेको इतिहासकार बताउँछन् । अमरगढी किल्ला , अजयमेरुकोट लगाएतका धार्मिक क्षेत्रपनि यस जिल्ल्लामा अवस्थित छन् । अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ । नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल विसं १८४७ मा नेपाल एकीकरण शिलशिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास जानकार बताउँछन् ।

युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८औँ शताब्दीमा गरेको बताइन्छ । 




२०८१ ज्येष्ठ २२ ०८:३७ बजे

प्रतिक्रिया