जनयुद्धलाई धोका दिनेहरु ‘निच’को रुपमा पतन भए ; मोहन वैद्य किरण

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ १४ ०८:०९ बजे

थुप्रै आन्दोलनहरु अगाडि बढाइयो । कम्युनिस्टहरुले थुप्रै थुप्रै किसान संघर्ष, जनसंघर्ष, वर्ग संघर्षहरु सञ्चालन गर्दै आए । झापा विद्रोह पनि महत्वपूर्ण परिघटना हो । दशवर्षको जनयुद्ध एक ऐतिहासिक परिघटना हो । ती आन्दोलनहरु गर्दै आउँदा आखिरमा हामीले जुन सफलताको आशा, अपेक्षा गरेका थियौं, महान जनयुद्धमा त्याग, वीरता र बलिदान प्रचुर मात्रामा भएका थिए । तर पनि आन्दोलन सफल हुन सकेन । यसमा चिन्ता, दुःख त लाग्छ । तर चिन्ता र दुःख मानेर मात्रै हुँदैन । यो क्रान्तिको इतिहास अत्यन्तै जटिल छ । क्रान्तिको बाटो बाङ्गो टिङ्गो हुन्छ । क्रान्ति सरल रेखामा जाँदैन । क्रान्ति र प्रतिक्रान्ति साथसाथै हिड्छन् । अनेकौं प्रतिक्रान्तिको सामना गरेर क्रान्ति सफल हुन्छ । यो कुरा बुझ्न जरुरी छ । एउटै प्रक्रिया, एकै पटक संघर्ष गरेर मात्र क्रान्ति सफल भइहाल्छ भन्ने पनि हुँदैन । क्रान्ति र प्रतिक्रान्तिका थुप्रै श्रृङ्खलाहरु हुन्छन् । ती श्रृङ्खलाहरुलाई पार गर्दै जानु पर्छ । क्रान्तिको फेरि नयाँ श्रृङ्खला, नयाँ तयारीको प्रक्रिया फेरि पनि अगाडि बढ्दैछ ।

हामी पार्टी एकताको प्रक्रियामा अगाडि बढेका छौं । तीनवटा पार्टीको विचमा सान्दार एकता भएको छ । यो एकता प्रक्रियालाई सुदृढ तुल्याउँदै क्रान्तिको तयारीको बाटोमा अगाडि बढ्छौं । हामीले थुप्रै, लेखक कलाकार, सांस्कृतिकर्मी, साहित्यकारलाई गोलबन्द गरेर क्रान्तिको अभियानलाई सञ्चालन गर्ने छौं । हामी महाधिवेशनको प्रक्रियामा जाँदै छौं । यी सबै चिजको संश्लेषण गर्दै हामी क्रान्तिको तयारीमा सशक्त रुपमा जान्छौं । क्रान्ति सफल हुन्छ ।

माक्र्सवादी सौन्दर्य शास्त्र केवल सौन्दर्य शास्त्र मात्र होइन, राजनीतिसँग जोडिएको विषय हो । त्यो कुरा बुझ्न जरुरी छ । सौन्दर्य शास्त्रमा दुईवटा प्रवर्ग हुन्छन्– उदात्त र निच । यसलाई राम्रोसँग बुझ्न जरुरी छ । उदात्त भनेको देश, जनता र समाजलाई अग्रगामी दिशातर्फ अगाडि बढाउने भव्य, विशाल भूमिका हो । जहाँसुकै बद्मासी गर्ने, समाजलाई उल्टोदिशातिर लैजान खोज्ने प्रवृत्ति निच हो । यो राजनीतिक प्रवर्ग पनि हो । अहिले नेताहरु किन यस्ता भए भन्ने कुराको जवाफ सौन्दर्य शास्त्रले राम्रोसँग दिएको छ । त्यो भनेको माक्र्सवादी सौन्दर्य शास्त्र हो । माक्र्सले एक पटक हेगेलका कृतिको बारेमा लेख्ने क्रममा भन्नुभएको थियो, “इतिहासमा घटनाहरु र महान हस्तीहरु दुईपटक देखा पर्छन, सुरुमा (पहिलो पटक) ट्रेजडी (दुखान्त)को रुपमा, दोस्रो पटक कमेडी (प्रहसन)को रुपमा ।” ट्रेजडी उदात्तसँग जोडिएको छ, कमेडी निचसँग जोडिएको छ । कसरी आउँछ ? हिजोका क्रान्तिका नायक के भए ? हिजो जसले क्रान्तिको नेतृत्व गरेको हो, आज त्यसैले प्रतिक्रान्तिको नेतृत्व गर्यो । क्रान्तिका हिरो, नेताहरु हुन्छन्, तिनीहरुले दुखान्तको बहन गर्छन् । दुखान्त भनेको त्याग, वीरता र बलिदानको बाटो हो । यसको असाध्यै ठूलो महत्व छ ।

झापा विद्रोह र जनयुद्धका नेताहरु सुरुमा त्याग, वीरता र बलिदानको रुपमा देखापरे, पछि गएर उनीहरु हास्य पात्रको रुपमा पतन हुन पुगे । सुरुमा उदात्त रुपमा देखा परे, पछि निच भएर गए । पहिले नायकको रुपमा आए, पछि खलनायकको रुपमा पतन भएर गए । जनयुद्धका योद्धाहरुले ट्रेजडीको भूमिका खेलेका छन् । क्रान्तिका नायक हुन् उनीहरु । जसले महान जनयुद्ध र इतिहासका अरु थुप्रै आन्दोलनहरुलाई धोका दिए, तिनीहरु खलनायक हुन्, निच हुन्, हाँस्य पात्र हुन् । यो इतिहासको मूल्याङ्कन हो ।

अब फेरि त्याग, वीरता र बलिदानको नयाँ अध्यायको सुरु गर्नुपर्छ । त्यसो गरिएन भने क्रान्ति हुँदैन । जबसम्म समाजमा समस्या रहिरन्छन्, अन्याय, अत्याचार, विभेद र उत्पीडन रहिरहन्छ, तबसम्म क्रान्तिको आवश्यकता परिरहन्छ । सरकारमा जान लुछाचुडी गर्नेहरुबाट यो देश र जनताका समस्या समाधान हुनेवाला छैन । अहिले क्रान्तिकारीहरुबिचको एकता अनिवार्य आवश्यकता बनेको छ । जटिलताहरु छन्, एक ढिक्का भएर अगाडि बढियो भने प्रतिकूलतालाई पनि अनुकूलतामा बदलेर क्रान्तिको सही नेतृत्व गर्न सक्छौं । त्याग, वीरता र बलिदानको भावना, सहिदहरुको सम्मान आदि सबै कुरामा ध्यान दिंदै अगाडि बढ्न जरुरी छ ।’ हिजो २३औ इच्छुक स्मृति दिवशको कार्यक्रमलाइ सम्वोधन गर्दै  किरणले वताएका छन



२०८१ ज्येष्ठ १४ ०८:०९ बजे

प्रतिक्रिया