संसद् तरुण दलको क्लब होइन- एमाले, सभामुख पार्टीको नेता होइन- कांग्रेस

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ ३ २०:२५ बजे

काठमाडौं। प्रतिनिधि सभामा केही दिनदेखि जारी तनाव मुठभेड उन्मुख भएको छ। बिहीबारको संसद् बैठकमा सत्ता र प्रतिपक्षले संसदीय मर्यादाको सीमा पार गरेका छन्। कांग्रेस सांसदहरुले सत्तापक्षका नेताहरुको आसन नजिकै पुगेर नाराबाजी गरेका छन् भने सत्तापक्षबाट संसद्‌लाई पेलेरै अघि बढाउने अभ्यास भएको देखिएको छ। जसले परिस्थिति धकेलाधकेलतिर पुर्‍याएको छ। मर्यादित संसद्को मर्यादामा नै हानि पुर्‍याएको देखिएको छ। 

सभामुख पार्टीको जस्तो देखियो- कांग्रेस

नेपाली कांग्रेसका नेताहरुले सभामुख देवराज घिमिरेले अमुक पार्टीको नेता जस्तो गरी संसद् चलाउन खोजेको आरोप लगाएका छन्। तलबाट नेताहरुले दिएको निर्देशन बमोजिम उनले संसद् चलाउने खोजेको नेपाली कांग्रेसका नेता प्रकाशरण महतले बताए।

उनले भने, ‘सभामुख स्वयंले संसदीय मर्यादा विपरीत र कार्यविधि विपरीत काम गर्नुभएको छ। विपक्षी दल बेलमा आइसकेपछि सभालाई अघि बढाउने काम हुँदैनथ्यो। सत्तापक्षका नेताले संसद् अघि बढा भन्ने र सभामुखले जबर्जस्ती अघि बढाउने कार्य उचित होइन। जसरी सभा सञ्चालन गर्न थाल्नुभयो संसदीय इतिहासमा अमर्यादित हो।’ यसैगरी अर्का कांग्रेस नेता रामहरि खतिवडाले सभामुख पार्टीको सभामुख जस्तो प्रयोग भएको बताएका छन्। ‘आज मुठभेडको अवस्था सिर्जना गर्ने काम सत्तापक्षले गरेको छ। सत्तारुढ दलकै नेताहरु हिजोदेखि असहिष्णु भएर प्रस्तुत हुनुभएको छ,’ उनले भने। 

संसद् तरुण दलको क्लब होइन- सत्तापक्ष

नेकपा एमालेका नेताहरुले कांग्रेसले प्रजातान्त्रिक व्यवहार र संसदीय मर्यादा बिर्सेको आरोप लगाएका छन्। आफूमाथि उठेका प्रश्नको जवाफ दिने अधिकार गृहमन्त्री लामिछानेलाई रहेको एमाले नेता योगेश भट्टराई बताए।

उनले भने,  ‘आफूमाथि उठेका प्रश्नको संसद्‌बाट जवाफ दिने अधिकार एउटा सांसदका रुपमा उहाँलाई छ। कुनै आरोप प्रमाणित भएमा समेत संसद्‌मा बोलेर राजीनामा दिएका प्रशस्त उदाहरण छन्। त्यस्तो गर्न नदिने कांग्रेसको अलोकतान्त्रिक व्यवहार हो। यो तरुण दल, नेविसंघको क्लब होइन। संसद् हो। त्यो कांग्रेसले बुझ्नुपर्छ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्ष संसदीय छानबिन समिति गठन गर्न दिने अवस्थामा पुग्दा पनि गृहमन्त्री लामिछानेलाई बोल्न नदिनुले कांग्रेसमा लोकतान्त्रिक व्यवहार नरहेको प्रमाणित गर्ने बताए। ‘बिहान भएको छलफलबाट नेपाली कांग्रेस पछि हट्यो। सांसद हुँ भन्न लज्जाबोध हुन लागेको छ। कांग्रेसका वरिष्ठ नेताहरुबाट सत्तारुढ दलका नेताहरु बसेका ठाउँमा पुगेर नाराबाजी गर्ने काम भएको छ। जुन शोभनीय होइन। क्षमा मागेर  संसद् शोभनीय र गरिमामय बनाउने प्रतिबद्धता जनाउनुपर्छ।’

अब समिति बन्दैन- रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले अब संसदीय छानबिन समिति बनाउन आफूहरु तयार नभएको बताएका छन्। आफूहरुले बिहीबार दिउँसो कांग्रेससँग संसद्‌मा बोल्न पाउने सर्तमा समिति बनाउने कुरामा सहमति जनाएको उनले बताए। कांग्रेसले सम्झौता तोड्नुका साथै अभद्र व्यवहार देखाएको उनको भनाइ छ। ‘उहाँहरुले जुन अभद्र व्यवहार देखाउनुभयो त्यो पनि मन्त्री बस्ने, उपसभामुख बस्ने एरियामा गएर संसदीय मर्यादा नाघ्नुभएको छ। पटकपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बसेको ठाउँमा पुगेका कारण हात हालाहाल भएको अवस्था हो। हाम्रा लागि बिर्सिन लायक घटना हो।’


२०८१ ज्येष्ठ ३ २०:२५ बजे

प्रतिक्रिया