सुरू हुनेबित्तिकै संसदमा काँग्रेसको अवरोध

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २८ २१:०२ बजे

काठमाडौँ । सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ । तर सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विरोध जनाएको छ ।

काँग्रेसलगायत केही दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए । उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए । सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए।

सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत समेत गरेका छन् ।त्यसपछि कांँग्रेस सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी सुरु गरेपछि सभामुख घिमिरेले समेत बोल्न पाएनन् । सभामुखले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्न लाग्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेको हो । यससँगै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 


२०८१ वैशाख २८ २१:०२ बजे

प्रतिक्रिया