भारतीय बोलीमा लोली मिलाउने राष्ट्रपतिका सल्लाहकार नेपाललाई पदबाट बर्खास्त गर्न माग

राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न साथै, सल्लाहकार चिरञ्जीवी नेपाललाई तत्कालै पदबाट हटाउन माग गरेका छन।

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २७ ०८:२४ बजे

नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार नेपालले विरोध गरेको भन्दै उनलाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले माग गरेका हुन् ।

मुलुकको हित र स्वाभिमान विरुद्ध र पदीय मर्यादाविपरीत राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै नेपालले यस्ता टिप्पणी गरेको उनीहरूले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । राष्ट्रपतिका सल्लाहकार नेपालले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय रहेको भनी टिकाटिप्पणी गरेको उनीहरूले वक्तव्यमा उल्लेख गरेका छन् ।

‘सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पदको गरिमामा चोट पुर्‍याएको छ । राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यताविपरीत’ र ‘अविवेकी’ भन्ने सल्लाहकार चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौँ, वक्तव्यमा भनिएको छ ।

‘राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न हामी अविलम्ब राष्ट्रपति कार्यालयबाट माग गर्दछौँ, साथै, सल्लाहकार चिरञ्जीवी नेपाललाई तत्कालै पदबाट हटाउन माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ ।


२०८१ वैशाख २७ ०८:२४ बजे

प्रतिक्रिया