फेरि पनि कमरेडकै कुरा

bimbonline वलराम तिमिल्सिना
२०८१ वैशाख २६ ०७:३९ बजे
वलराम तिमिल्सिना

एक जना कमरेडले भने

घुष नखाई पनि कमरेड होइन्छ ?

अर्का कमरेड कस्सिए

दलाल नबनी कहीं टिक्न सकिन्छ ?

तेस्रो कमरेड कुर्लिए

अलि अलि जनता नढाँट्ने हो भने

चुनाबमा भोट कसरी आउँछ ?

तपाईले सुन्नु भयो नि कमरेडका कुरा ?

यिनीहरूलाई कमरेड होइनन् भनौं

यिनीहरूले नै भोट मागेर

कमरेडहरूको पहिलो पार्टी

कमरेडहरूको दोस्रो पार्टी

र कमरेडहरूको तेस्रो पार्टी यिनीहरूकै छ

सरकारको नेतृत्वमा यिनीहरू नै छन

प्रतिपक्षको बेञ्च यिनीहरूले नै तताइरहेका छन्

सरकारलाई थाक्रो यिनीहरू नै छन ।

यिनीहरूलाई कमरेड हुन भनौं भने

मेरो विवेकले आची खानु पर्छ

यिनीहरूलाई कमरेड मान्ने हो भने

मार्क्सलाई बहुलाहा

लेनिनलाई युध्द सरदार

माओलाई सन्काहा

र चेग्वेभारालाई हत्यारा भन्नु पर्ने हुन्छ

म त्यसो कसरी भनौं ?

थरी थरीका कमरेडहरू

चिया पसलमा भेटिन्छन्

एउटाले गफ लगाउँछ –

म त अचेल गायत्री जप्न थालेको छु

गायत्री जप्न थालेदेिख

बाहुन टोलमा सङ्गठन ह्वात्तै बढेको छ

अर्कोले गफ अघि बढाउँछ

जनै लगाउन थालेदेखि

पण्डितहरू पनि पार्टी प्रवेश गर्न थालेका छन

अचेल पार्टीको ओज नै फरक छ

तेस्रो पनि के कम

उसले पनि फूर्ती लगाउँछ

हाम्रो पार्टीमा त धामी झाँक्री पनि टन्नै छन

म केवल सुनिरहन्छु

केही पनि भन्दिन ।

यिनीहरूलाई कमरेड हुन भनौं भने

मैलै आफैलाई धिक्कार्ने पर्ने हुन्छ

यिनीहरुलाई कमरेड मान्ने हो भने

होचिमिन्हलाई के भन्ने

पुष्पलाललाई के भन्ने

चारु मजुमदारलाई के भन्ने

म एकदम निस्सासिन्छु

कमरेडहरूको गफ चलिरहेकै छ ।

उल्टै कमरेडहरू थर्काउँछन

कहाँ लेख्या छ कम्युनिष्टले धर्म नमान्नु भनेर

कसले भन्यो हल्का तस्करी नगर्नु भनेर

कसले भन्यो –

कम्युनिष्टहरूले हल्का रमाइलो गर्न

रेड लाइट एरियामा नछिर्नु भनेर

मोज मजा जति पूँजीपतीले लुट्ने

अनि हामी कम्युनिष्ट चै थुक‌ निलेर बस्ने

यसो भन्छन अचेलका कमरेडहरू 

यिनीहरूलाई कमरेड मान्ने हो भने

मैले साम्यवाद मुर्दावाद भन्नु पर्ने हुन्छ

यिनीहरूलाई कमरेड मान्ने हो भने

मैले कम्युनिष्ट र कमरेड मुर्दावाद भन्नु पर्ने हुन्छ

यिनीहरूलाई कमरेड मान्ने हो भने

मैले म आजबाट कमरेड होइन भन्नु पर्ने हुन्छ

हिजो हाँसी हाँसी

छात्तीमा गोली थाप्ने पनि कमरेड

यी हप्ता हप्तामा कमिशन थाप्ने पनि कमरेड

यस्तो कसरी हुन्छ ?



२०८१ वैशाख २६ ०७:३९ बजे

प्रतिक्रिया