दर्शन भनेको संसारलाई हेर्ने ढंग हो । प्रकृति र समाजका हरेक घटना, समस्या र वस्तुलाई हेर्ने हरेक व्यक्तिको आफ्नो ढंग हुन्छ । यो ढंगलाई नै दर्शन भनिन्छ । विश्वलाई हेर्ने ढंग भएकाले दर्शनलाई विश्व दृष्टिकोणु भने पनि हुन्छ ।संस्कृत भाषामा दर्शनको अर्थ हुन्छ- हेर्ने कार्य । त्यही अर्थबाट पनि दर्शन के हो, बुझ्न सकिन्छ ।
प्रकृतिमा अनेकौं घटना लगातार घटिरहेछन् । त्यस्तै समाजमा पनि । ती घटनाहरू खास खास नियमअनुसार घटिरहेछन् । ती नियमरूलाई हेर्ने कसरी ? थाहा पाउने कसरी ? सोच्ने, विश्लेषण गर्ने कसरी ? दर्शन भनेको प्रकृति र समाजका तिनै सामान्य नियमहरूको सार तत्व हो । प्रकृति र समाजका हरेक घटना र समस्यालाई हेर्ने, थाहा पाउने, विचार गर्ने र विश्लेषण गर्ने ढंगको नाम नै दर्शन हो ।कार्ल मार्क्सभन्दा अगाडि दर्शनलाई खालि संसारलाई हेर्ने ढंगको रूपमा मात्र बुझिन्थ्यो । कार्ल मार्क्सले त्यसमा महत्त्वपूर्ण परिवर्तन गर्नुभयो । उहाँले भन्नुभयो कि दार्शनिकहरूले संसारलाई विभिन्न ढंगबाट विश्लेषण गर्ने प्रयत्न गरेका छन्, तर मूल कुरा त यसलाई फेर्नु हो । यस प्रकार, मार्क्सको विचारअनुसार, दर्शन भनेको संसारलाई हेर्ने ढंग मात्र होइन, यो संसारलाई फेर्ने ढंग पनि हो ।
प्रकृति र समाज जुन जुन नियमबाट संचालित छन्, ती नियमहरू सही तवरले थाहा पाउन र बुझ्न सकियो भने निकै कम नोक्सानीमा र थोरै समयमा यो संसारलाई सही दिशामा फेर्न सकिन्छ । तर ती नियमहरू सही तवरले बुझ्न र थाहा पाउन सकिएन भने, संसारलाई सही दिशामा फेर्न नसकिने हुन्छ । वा परिवर्तनको मोल निकै चर्को पर्न जान्छ । त्यसैले, दर्शन सही हुनु नहुनुले हाम्रो जीवनमा ठूलो फरक पार्छ । र, दर्शन सही र गलत दुवै प्रकारको हुन्छ ।सही दर्शन आफ्नो समयको ज्ञान र विज्ञानको सार हो । मान्छेले प्रकृति र समाजका अनेकौं रहस्यहरूलाई थाहा पाउने सिलसिलामा जे जति ज्ञान हासिल गर्छ र विज्ञानको विकास गर्छ, त्यसैको निचोड नै सही दर्शन हो । यो दही मथेर नौनी निकाले जस्तै कुरा हो । सही दर्शन आफ्नो समयको ज्ञान र विज्ञानको दही मथनी गरेर निकालिएको बौद्धिक नौनी हो । सही दर्शनलाई, त्यसैले, विज्ञानको पनि विज्ञान भनिन्छ । सही दर्शनले संसारलाई सही तवरले हेर्न र फेर्न मद्दत पुयाउँछ । गलत दर्शन यसको ठीक विपरीत हुन्छ ।
प्रत्येक मान्छेलाई आफूसित दर्शन छ भनेर थाहा नहुन सक्छ, तर थाहा भए पनि नभए पनि दर्शन बिनाको मान्छे हुँदैन । सही होस् वा गलत, हरेक मान्छे सँग संसारलाई हेर्ने र फेर्ने एउटा ढंग हुन्छ, हुन्छ । त्यो नै उसको दर्शन हो । हेर्ने ढंग सही छ भने, उसले प्रकृति र समाजका हरेक रहस्यलाई ठीक ढंगले थाहा पाउन सक्छ र समस्यालाई ठीक तरिकाले हल गर्न सक्छ । उसको दर्शन गलत छ भने रहस्य खुल्ने होइन, त्यो अझ रहस्यमय हुँदै जान्छ, समस्याको गाँठो फुक्ने होइन, त्यो गाँठो झन् झन् कस्सिँदै जान्छ ।
समाजमा वर्गहरू छन- चुसी खाने वर्ग र गरी खाने वर्ग । त्यसैले दर्शन पनि वर्गीय हुन्छ । चुसी खाने वर्गको संसारलाई हेर्ने ढंग अलग्गै हुन्छ, गरी खाने वर्गको अलग्गै चुसी खाने वर्गको दर्शन गरी खाने वर्गको दर्शनभन्दा विपरीत हुन्छ । चुसी खाने वर्गको आँखाले हेर्दा संसारमा सुखै सुख मात्र छ र संसार स्वर्गसरि छ । ती जो दुःखमा छन्, ती मूर्ख र अभागी हुनाले मात्र त्यसो भएका हुन् । संसार बाठा र भाग्यमानीहरूको हो । अरूले उनीहरूको सेवा गर्नु, र अर्को जुनीमा सुखी जीवनको लागि प्रार्थना गर्नुमा नै उनीहरूको कल्याण छ । तर गरी खाने वर्गको आँखाले हेर्दा संसार त्यति रंगीन र सुखमय छैन । संसार अहिले उनीहरूको लागि नर्कसरि छ । उनीहरूको परिश्रमको फल चुसी खानेले उत्तिकै लुटेकाले नै गरी खानेहरू पनि धेरै दुःखी र गरीब हुनु परेको हो । त्यसैले, चुसाहा लुटाहाहरूले चुसेर लुटेर मुफ्तमा थुपारेको उनीहरूको पसीनाको फल खोसेर आफ्नो भागमा ल्याउन सकियो भने मात्र यही जुनीमा उनीहरूको सुखको दिन आउन संभव छ । संसारलाई हेर्ने यी दुईथरिको ढंग कति भिन्न र विपरीत छ, यसैबाट देखिन्छ ।
त्यसैले, चुसी खानेको दर्शन अलग्गै हुन्छ, गरी खानेको अलग्गै । गरी खानेले पनि चुसी खानेकै आँखाले संसारलाई हेर्न थाल्यो भने चुसी खानेको स्वर्ग ज्यूका त्यूँ बाँकी बस्छ, त्यो कहिल्यै हल्लिंदैन । गरी खाने हमेशा चुसी खानेको कमारो भइरहन्छ । अक्सरतया चुसी खानेहरू के चलाखी गर्छन् भने, उनीहरू गरी खाने वर्गलाई हमेशा चुसी खानेकै आँखाले संसारलाई हेर्न सिकाउँछन् । चुसी खानेकै दर्शन उनीहरू गरी खानेलाई अपनाउन सिकाउँछन् । त्यस्तो गर्न सफल भए भने गरी खानेलाई नेल हत्कडी लाउनै पर्दैन । उनीहरू सदैव नेल हत्कडी लगाएका बाँधा कैदी सरह भइरहन्छन् । अतः सुखी र मुक्त जीवन बिताउने हो भने, गरी खानेले आफ्नो दर्शन नै बदल्नु पर्छ । गरी खानेले गरी खानेकै दर्शन बोक्नु पर्छ, चुसी खानेको होइन । गरी खानेले संसारलाई जस्तो छ, त्यस्तै हेर्ने दर्शन बोक्नु पर्छ । गरी खानेले सही दर्शन बोक्नु पर्छ ।
मूल्याङ्कन मासिक २०५५ वैशाख -जेठ अँक वाट
प्रतिक्रिया