साउदी जेलमा ६१५ नेपाली, मापसेका सवैभन्दा बढी

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २७ १०:३३ बजे

काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ६ सय १५ जना नेपाली नागरिक जेलमा परेका छन । साउदी प्रशासनले विभिन्न मितिमा पक्राउ परेका भन्दै नेपाली राजदूतावासलाई यो तथ्यांक उपलब्ध गराएको हो ।

कारागारमा रहेकामध्ये धेरै मदिरासँग सम्बन्धित आरोपमा पक्राउ परेका साउदी अरवले जानकारी दिएको छ । अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण र ओसारपासार गरेको आरोपमा तीन सय ७८ जना नेपाली पक्राउ परेको जानकारी दूतावासलाई गराइएको हो । साउदीमा मदिरा सेवा निषेध छ ।त्यस्तै, एक सय ३३ नेपाली लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको तथ्यांक दूतावासलाई दिइएको छ । यस्तै पाँच नेपालीमाथि हत्याको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । फैसला हुन नसक्दा उनीहरू पुर्पक्षका लागि जेल चलान भएका हुन ।

त्यसबाहेक ११ नेपालीमाथि घुस लिएको, सात जनामाथि कुटपिटमा संलग्न भएको, चार जना अनैतिक क्रियाकलापमा संलग्न रहेको, ६ जना राहदानीसम्बन्धी समस्यामा परेको जनाइएको छ । यसैगरी २० जना बेइमानी गरेको, १८ जना चोरी र तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ लागेको दूतावासलाई उपलब्ध गराइएको बिवरणमा उल्लेख छ ।


२०८० चैत्र २७ १०:३३ बजे

प्रतिक्रिया