पुर्वन्यायधीस पत्नीद्वारा न्यायमा प्रभाव पार्न सर्वोच्चको इजलासमा नै विष सेवन

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २१ १६:२८ बजे

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छिन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन् । 

न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन् ।श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लग्यो । 

तर, अदालतले उनलाई धरौटीमा छोडेको हो । यता, सामाखुसीस्थित डेरामा पनि आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिइन् । गत वैशाख १७ गते काठमाडौं जिल्ला अदालतमा पनि बलात्कारको मुद्दा दायर भयो । जिल्लाले पनि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा पुनरावेदन गरिन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेकी आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् । 

आरतीले यसअघि सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । न्यायाधीश गिरीकी कान्छी श्रीमती आरती निःसन्तान हुन् । श्रीमानले आफूलाई यौनदासीको रुपमा प्रयोग गरेको उनको आरोप छ ।


२०८० चैत्र २१ १६:२८ बजे

प्रतिक्रिया