ताइवानमा शक्तिशाली भूकम्प

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २१ ०९:५१ बजे

ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ ।ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ ।सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउन चेतावनी दिइएको खबरमा उल्लेख छ ।


२०८० चैत्र २१ ०९:५१ बजे

प्रतिक्रिया