माओवादी केन्द्रका कमाण्डर कालीबहादुर खाम पक्राउ आधा दर्जन अपराधको आरोप

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २० २०:१३ बजे
कालीवहादुर खाम

काठमाडौं। घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ। 

कुनै समय माओवादी जनयुद्धका चर्चित कमान्डर रहेका खाम जनयुद्धबाटै उठेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले पक्राउ गरेको हो। प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरिरहँदा लगातार माओवादी केन्द्रका नेताहरु पक्राउ परिरहेका छन्। केही समयअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भेपमार्फत सुन तस्करीमा संलग्न भएको भनी अनुसन्धानका लागि पक्राउ परेका थिए। 

उनी बयान सकेर हाल रिहा भएका छन्। त्यसको केही समयपछि नै जनमुक्ति सेनाको तेस्रो डिभिजनको कमान्डरको रुपमा जनयुद्धमा सफल कमान्डरको छवि बनाएका  खाम कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका हुन्। खाम शान्ति प्रक्रियामा आएपछि धेरै विवादहरुमा तानिँदै आएका थिए। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको चितवनको शक्तिखोरमा अपहरण गरेर राखी यातना दिएर हत्या गरेको अभियोगमा अहिले उनलाई पक्राउ गरिएको हो। खाम त्यस बाहेक हातहतियार खरखजाना, डाँका चोरी र सरकारी छाप दस्तखत कीर्तेमा पनि विवादमा तानिएका थिए। 

उनी एकपछि अर्को विवादमा परिरहे तर माओवादी केन्द्र सधैँ सत्तामा रहँदा उनी फरार हुँदै उम्कँदै आएका थिए। तर अहिले सरकारले उनलाई पक्राउ गरेको छ। अब उनी सुरुमा रामहरि श्रेष्ठ हत्यामा सजाय भोग्नेछन्।  चितवन जिल्ला अदालतमा मुद्दा दायर भए लगत्तै फरार रहेका उनी सम्पर्कमै नआएपछि मुद्दा मुल्तवीमा राखिएको थियो। हत्यामा संलग्न आरोपी ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटाला थुनामुक्त भइसकेका छन्।

जिल्ला अदालत चितवनले २०६८ चैत १७ मा बटालालाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सर्वोच्च अदालतले उनलाई सफाइ दिएको थियो। उनलाई सफाइ दिने निर्णय विरुद्ध भने सरकारले पुनरावेदन दर्ता गराएको छ। उक्त पुनरावेदन सर्वोच्चमा विचाराधीन रहेको छ। सर्वोच्चले सफाइ दिएको र सरकारले पुनरावेदन गरेको भए पनि वटाला आफूलाई भएको ३ वर्ष १५ दिन कैद भुक्तान गरेर छुटेका छन्।  

तर, खामको हकमा भने सुरुमै मुल्तवीमा बसेको थियो।  जिल्ला अदालत चितवनले त्यसबेला खाम फरार रहेको भन्दै मुद्दा मुल्तबीमा राखेको थियो। अब उनी पक्राउ परेकाले मुल्तबीबाट मुद्दा जगाएर सुनुवाइ अघि बढ्नेछ। जिल्लाले पून सुनुवाइ अघि बढाउँदै खामलाई सफाइ दिने वा दोषी ठहर गर्नेबारे निर्णय सुनाउनेछ। जिल्लाले सुरुमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ। जिल्लाले मुल्तबीबाट जगाएर थुनछेक बहसमा धरौटी माग गरेमा उक्त धरौटी रकम बुझाएर उनी रिहा हुनेछन्। यदि जिल्लाले पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेमा भने उनी थुनामै बस्नेछन्।


२०८० चैत्र २० २०:१३ बजे

प्रतिक्रिया