कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ । लोपोन्मुख प्रजातिको रूपमा रहेको हिमाली गिद्धको बग्लहुवा सामुदायिक वनबाट स्थानीयले उद्धार गरी मङ्गलबार डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाएका हुन् ।
डिभिजन वन कार्यालयका प्रमुख नितेसराज भट्टराईले स्थानीयले खबर गरेपछि वनका कर्मचारीले उद्धार गरी डिभिजन वन कार्यालयमा राखिएको बताउनुभयो । उहाँले बिरामी गिद्धको उपचार गरी सुरक्षित स्थानमा छोडिनेसमेत जानकारी दिनुभयो ।
चराविद् हिरुलाल डगौराले जाडोको समयमा आहारा खोज्दै टाढा टाढासम्म पुग्ने हिमाली गिद्ध गर्मी सुरु भएसँगै हिमाल तिर फक्रने बताउनुभयो । चराविद् डगौराले लामो दुरीको उडान र गर्मीका कारण बिरामी परेको हुनसक्ने बताउनुभयो ।
उहाँले उद्धार गरिएको गिद्ध आइ.यु.सि.एनको रेडलिष्टअनुसार सङ्कटको नजिक रहेको जनाउनुभयो । हिमाली गिद्धहरू जाडोमा नेपालको हिमाली क्षेत्रबाट तराइमा आहाराका लागि आउने गरेको बताइन्छ । दुई वर्ष अगाडि यस्ता खालको हिमाली गिद्ध भजनीको सामुदायिक वनमा बिरामी अवस्थामा फेला परेको थियो । गोर्खापत्र अनलाइन
प्रतिक्रिया