काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव))को ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ ।भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार २७७ किलोग्राम यार्सागुम्बा विदेश निकासी भएको छ । गत आवको ८ महीनाको तुलनामा यो आवको उक्त अवधिमा यार्सागुम्बा निर्यात मूल्यका आधारमा ७० प्रतिशतले र परिणामका आधारमा १२६ प्रतिशतले बढेको छ ।
गत आवको साउनदेखि फागुनसम्ममा नेपालले ३६ करोड ३४ लाख २ हजार रुपैयाँको ५६४ किलोग्राम यार्सागुम्बा निर्यात गरेको थियो ।नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक गणतन्त्र, ग्रीस, हङकङ, जापान, मलेसिया, मङ्गोलिया, रूस, सिङ्गापुर, संयुक्त अधिराज्य (युनाइटेड किंगडम), संयुक्त राज्य अमेरिका, भियतनाम लगायतका देशमा यार्सागुम्बा निकासी हुँदै आएको छ । उक्त अवधिमा नेपालबाट हङकङमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात भएको छ । हङकङमा मात्रै २७ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको ४१२ किलोग्राम यार्सागुम्बा निकासी भएको छ ।
प्रतिक्रिया