हत्या र आत्महत्याका घटना वढ्दै

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ६ १४:३१ बजे

काठमाडौं । पछिल्लो समय हत्या, आत्महत्या जस्ता जघन्य अपराधको संख्या बढेको देखिन्छ । यसरी हत्या, आत्महत्या बढ्नुको पछाडी मानसिक बिचलन पनि एक तत्वका रुपमा लिन सकिने विज्ञहरु बताउँछन् । सामाजिक, आर्थिक तथा पारिवारिक लगायतका असन्तुष्टिका कारण मानसिक बिचलन बढ्दै यसको न्यूनिकरणका लागि के गर्न सकिन्छ त ? 

पछिल्लो समय हत्या तथा अत्महत्या जस्ता अपराधिक क्रियाकलाप बढ्दो क्रममा छ । पछिल्ला केहि उदाहरणका रुपमा नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासकोे हत्या घटनालाई लिन सकिन्छ । यही चैत २ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिइन् । त्यसको तीन दिन पछि प्रेममा धोका पाएको भन्दै पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेको अनुसन्धानका क्रममा भेटियो ।

त्यस्तै अर्को घटना गोकर्णेश्वर नगरपालिका ३ की १८ वर्षीया सुष्मा लामाको शव गत फागुन २४ गते तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा गाडिएको अवस्थामा भेटियो । अनुसन्धानका क्रममा तारेभिरका २१ वर्षीय रुपेन्द्र लामाले सुष्मासमक्ष पटक–पटक प्रेम प्रस्ताव राखेको तर सुष्माले इन्कार गरेको भन्दै लामाले हत्या गरी जंगलमा लगेर गाडे । पछिल्लो समय हाम्रो समाजमा यी र यस्तै प्रकृतिका घटना बढ्दो क्रममा छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो साढे तीन वर्षमा दुई हजार एक सय ४१ जनाको हत्या, नेपालमा दैनिक आत्महत्याको संख्या औसतमा १९ जना, पछिल्लो पाँच वर्षमा ३० हजारले गरे आत्महत्या।मनोचिकित्सकहरुका अनुसार हत्या नकारात्मक मनोभावनाको विकृत स्वरुप हो ।

पछिल्लो समय अपराधिक हुनुका विभिन्न कारण देखिन्छन् । प्रेममा धोका, पारिवारिक कलह, अनौतिक सम्बन्ध, आपराधिक मानसिकता जस्ता कारणले अपराधिक कृयाकलाप बढेको देखिन्छ । त्यस्तै, प्रविधिमा आएको विकासले पनि यस्ता गतिविधिलाई थप बढाउन मदत गरेको देखिन्छ । तर यस्ता अपराधिक घटना घट्नुको विविध कारण देखिए पनि घटना घट्नु वा घटाउनुको प्रमुख कारण मानिसको मनोभावना जोडिएको यसका जानकारहरुको बुझाई छ ।

कुनै पनि व्यक्तिले आफ्नो भवानालाई व्यवस्थापन गर्न नखोज्नु वा नसक्नुको अवस्थाले अपराध बढाउन मदत गरेको देखिन्छ । जसका लागि अपराधिक मानसिकता भएका व्यक्ति लाई अपराध गर्नबाट रोक्न कडा कानुनको आवश्यता छ । साथै अर्को तर्फ आत्महत्यालाई रोक्न मनोरोगका विषयमा खुलेर कुराकानी गर्न विद्यालय स्तरबाटै यस्ता विषयमा पठनपाठन हुन आवश्यक भएको विज्ञहरु औलाउँछन् ।



२०८० चैत्र ६ १४:३१ बजे

प्रतिक्रिया