२४ घण्टामा साढे आठ सय ठाउँमा डढेलो

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ४ ०९:१८ बजे

काठमाण्डौ। पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रवार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर (एन.एफ.एम.सी।) ले जनाएको छ ।

५९ वटा जिल्लाका विभिन्न ठाउँमा डढेलो लागेकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ । यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ । यसअघि बिहीवारदेखि शुक्रवार बेलुकासम्मको चौबीस घण्टामा देशमा आठ सय १३ ठाउँमा डढेलो पहिचान भएको थियो ।

यस्तै बुधवारदेखि बिहीवारसम्मको चौबीस घण्टामा चार सय ८ ठाउँमा डढेलो देखिएको थियो । यसरी केही दिनदेखि वन डढेलो बढिरहेको पाइएको छ । नेपालमा वन डढेलोका घटना बढ्ने क्रम पछिल्ला केही वर्षदेखि नै बढिरहेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन् ।


२०८० चैत्र ४ ०९:१८ बजे

प्रतिक्रिया