भक्तपुर। भियतनामको हालोन बे पुग्न २ र ४ किमि अगाडि एउटा नसोचेको स्थानमा लगियो । ‘नगट्राइ नुआई’ भनिने मोती उत्पादन गर्ने प्रयोगशाला र बिक्री तथा अवलोकन स्थलमा । चार र पाँच वटा लहरै राखिएको टेबलमा मोती उत्पादनको प्रक्रिया नै देखाइयो । सुन, चाँदी, गहना सम्बन्धमा हामीलाई त्यति ज्ञान पनि थिएन, चाख पनि भएन । मोतीको उत्पादनका बारेमा पनि केही पूर्व ज्ञान त झनै थिएन । उक्त प्रक्रियाले नयाँ कुरा सिक्न पाएको महसुस भयो । अङ्ग्रेजीमा अस्टर (Oyster) भनिने एक चेप्टो शङ्खेकीराको भित्री भागमा प्राकृतिकरूपमा उब्जिने सेतो गोलो कडा भाग नै मोती हुँदो रहेछ । परापूर्वकालदेखि मानिसले गहनाको रूपमा लगाइने मोती साहै साझा र महँगो गहना मानिन्छ । प्राकृतिकरूपमा पाइने मोतीको आकार सबै सामान र राम्रो नदेखिने रहेछ । सन् १८९३ अथवा आजभन्दा एकसय तीस वर्ष पहिलेसम्म मानिसले प्राकृतिकरूपमा पाइने मोतीमात्र प्रयोग गर्न पाउँथे । तर, सन् १८९३ मा कोकिचि मिकीमोटो भनिने एक जापानी मोतीका व्यवसायीले मानिसले चाहेजस्तो आकार र साइजको मोती पाउन मोती बन्ने प्राकृतिक प्रक्रियाको गहन अध्ययन गर्दै आखिरमा ‘कल्चर्ड मोती’ (कृतिमरूपमा जिउँदो शङ्खभित्र मोती राखेर त्यसबाट आफूले चाहेको मोती निकाल्ने प्रविधि) खेती नै गर्न सकिने तरिकाको विकास गरे । मिकीमोटोको नयाँ प्रविधिले मोतीको उत्पादन, उद्योग र व्यवसायमा नयाँ क्रान्ति नै ल्याएको मानिन्छ ।
मोती उत्पादन गर्ने यस प्रक्रियाको अवलोकन गराइसकेपश्चात् बिक्री र अवलोकन कक्षमा लगियो । मूल्य अङ्कित कागज (Price tag) हेर्दै जिब्रो टोक्दै हामी निस्कियौँ । तर, हाम्रो समूहको दुई जनालाई करिब आधा घण्टा बसभित्रै कुर्नुपर्यो । एक नवविवाहित जोडी दामको थैलो पनि ठुलै थियो क्यारे मोतीको गहिराइमै हराएछन् राम्रो मोतीको माला किन्दा किन्दै । मोती उत्पादनको कक्षबाट बस सिधैँ हालोन बेतिर हानियो ।
मनमोहक ‘हालोन बे’
राजधानी हनोईको उत्तरपूर्वमा अवस्थित समुद्री किनारलाई ‘गल्फ अफ तोकिन’ (Gulf of Tokin) भनिन्छ । भौतिक भूगोलको शब्दावलीअनुसार अङ्ग्रेजी गल्फ (Gulf) र बे (Bay) को अर्थ खाडी हुन्छ जसको अर्थ तीनतिर जमिनले घेरिएको एकातिर खुला समुद्रको भागलाई भनिन्छ । विगत केही वर्षमा यस क्षेत्र विश्वकै पर्यटनको नयाँ गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको छ । हनोईबाट १०२ किमि पूर्वमा पर्ने समुद्री किनारको हाइफोङ्ग सहर हुदै त्यहाँबाट पनि अझ ३० किमि उत्तर–पूर्वमा पर्ने हालोन अर्को समुद्री किनारको सहर हो । यही सहरको पूर्वतर्फको करिब १५००० वर्गकिमिमा फैलिएको सामुद्रिक क्षेत्र जुन करिब १९६९ वटा साना ठुला टापुहरू छरिएर रहेको अत्यन्त मनमोहक प्राकृतिक क्षेत्र हो । ती १९६९ मध्ये करिब ९०० वटा टापुको नामकरण भइसकेको र अझ धेरैको गर्न बाँकी रहेको छ । यी टापुहरू कुनै थुम्को जस्तै लाग्छ भने कुनै डाँडाजस्ता । कुनै एक आपसमा जोडिएको लामो थुम्कोहरूको मालाजस्तो देखिन्छन् भने कुनै एक्लो डाँडे टापुजस्तो । संसारकै प्राकृतिकरूपमा सुन्दर स्थानहरूमध्येको मानिने यस क्षेत्र हालैका वर्षहरूमा भियतनामको मुख्य पर्यटन स्थलहरूमध्येमा पर्छ ।
प्रतिक्रिया