सुदूरपश्चिम प्रदेश सरकारका ७ जना मत्री मध्ये ६जना कैलाली जिल्लाका

समावेशि समानुपातिक प्रतिनिधित्वको प्रदेश सरकारले खिल्ली उडाएको छ।

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २९ १८:३७ बजे

धनगढी।सुदूरपश्चिम प्रदेशको विस्तारित मन्त्रीपरिषदमा कैलाली जिल्लाका प्रदेश सभा सदस्यको वर्चस्व देखिएको छ । राजनीतिक उतारचढावसँगै प्रदेश मन्त्रीपरिषद्मा भएको फेरबदलमा कैलाली जनप्रतिनिधिको वर्चस्व रहेको छ ।

सात सदस्यीय मन्त्रीपरिषद्मा कैलालीको मात्रै छ जना प्रदेश सभा सदस्य रहनुभएको छ । यही शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) का तीन र नेकपा (एकीकृत समाजवादी) का एक गरेर चार मन्त्रीलाई पदमुक्त गरेपछि उहाँले तीन मन्त्री नियुक्त गर्नुभएको थियो । नियुक्त गरिएका तीनै मन्त्री कैलालीकै हुनुहुन्छ । 

पछिल्लो पटक पुनर्गठित मन्त्रीपरिषद्मा भने आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टबाहेक मुख्यमन्त्री सहित सबै मन्त्री र राज्यमन्त्री कैलालीबाट प्रतिनिधित्व गर्नुहुन्छ । मुख्यमन्त्री शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी हुनुभएको थियो । यसै गरी भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा कैलाली क्षेत्र नम्बर ५ (ख), आर्थिक मामिलामन्त्री घनश्याम चौधरी कैलाली क्षेत्र नम्बर ३ (क), भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

बिनाविभागीय मन्त्री खुसीराम डङ्गौरा थारू कैलाली क्षेत्र नम्बर ३ (ख) र भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरी कैलालीको धनगढीवासी हुनुहुन्छ । उहाँ नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक प्रदेश सभा सदस्य बन्नुभएको थियो । 

छ मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय नेतृत्वविहीन रहेको छ । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्मा कैलालीको वर्चस्व भएपछि भौगोलिक रूपमा असमावेशी भएको भन्दै प्रदेश सरकारको आलोचना गर्न थालिएको छ । 




२०८० फागुन २९ १८:३७ बजे

प्रतिक्रिया