भालेले नै ‘बच्चा जन्माउने’ अनौठो जीव समुद्री घोडा

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २४ १२:४५ बजे

भाले प्राणीले पनि बच्चा जन्माउँछ भनेर तपाईंलाई कसैले भन्यो भने तपाईं ठान्नु हुनेछ– कि त यो मान्छेले ठट्टा गर्दैछ कि त ऊ बौलायो ।तर हतारिएर त्यस्तो नसोच्नुहोस् । समुद्री घोडा ( (Sea Horse)  को भालेले बच्चा नै पो जन्माउने गर्छ  कि क्या हो भन्ने भ्रम हामीलाई उसको जीवनचक्र देख्दा जान्दा लाग्न सक्छ।

वास्तवमा, भाले आफैंले बच्चा जन्माउने चाहिँ होइन । समुद्री घोडाको पुच्छरनेर एउटा थैली हुन्छ, जसमा पोथी घोडाले अण्डा पार्छ । त्यही थैलीमा रहेको तरल पदार्थमा हुने अक्सिजन र क्याल्सियमको सहारामा नै त्यो अण्डा हुर्कने र कोरलिने काम हुन्छ । त्यसैले त्यो अण्डाबाट बच्चा पैदा हुँदा यस्तो लाग्छ, मानौं भालेले बच्चा जन्माइरहेछ ।

त्यस्तो बच्चा बोक्ने थैली भालेमा मात्र हुन्छ, पोथीमा हुँदैन । भाले समुद्री घोडाको त्यो थैलोमा एक पटकमा १०० वटादेखि २०० वटासम्म बच्चाहरु हुर्कन सक्छन् । त्यस थैलीमा हुर्केका बच्चाले थैलीबाट बाहिर आएपछि आफ्नो आहारा खोज्ने र शत्रुबाट बच्ने काम आफैं गर्नुपर्छ ।

समुद्री घोडा Hippocampus जीवसमूहअन्तर्गत पर्दछ । यसलाई Syngnathidae परिवारमा राखिएको छ । ग्रीक भाषामा हिप्पोक्याम्पसको अर्थ घोडा वा समुद्री दैत्य भन्ने हुन्छ । संसारभरिमा अहिले यस जीवका ३२ देखि १२० वटा प्रजातिहरु रहेको अनुमान गरिएको छ । यो जीव संसारका प्रायः सबै सागर–महासागरमा पाइन्छ ।

समुद्री घोडाको शरीर अचम्मको हुन्छ । यसको टाउको घोडाको जस्तो, शरीर आर्मडिल्लो(armadillo)  को जस्तो र पुच्छर चाहिँ बाँदरको जस्तो घुमाउरो हुन्छ । समुद्री घोडाको आँखा त्यसको टाउकोको छेउमा हुन्छ । रमाइलो कुरा के छ भने यो आफ्ना दुबै आँखालाई अलग अलग र स्वतन्त्रतापूर्वक चलाउन सक्छ । त्यसैगरी, यसले आफ्नो पुच्छरको मद्दतले समुद्रमा मान्छे उभिएजस्तो गरी खडा हुन पनि सक्छ । यसो गर्नको लागि त्यसले आफ्नो पुच्छरलाई मोडेर कडा बनाउने गर्छ । समुद्री घोडाका भाले तथा पोथी दुबैको ढाडमा पखेटा हुने गर्छ ।

अनौठो कुरा के छ भने समुद्री घोडाको दाँत हुँदैन । त्यसै गरी यसको पेट वा आमाशय हुँदैन । त्यसैले यसले खाएको खानेकुराको अधिकांश हिस्साबाट राम्ररी पोषण पनि ग्रहण गर्न सक्दैन । यी कारण नै यसले जीवित रहनको लागि जतिखेर पनि केही न केही खाइरहनु पर्ने हुन्छ । खानेकुरा खाँदा यिनीहरुले क्लिक् क्लिक सुनिने आवाज पनि निकाल्ने गर्छन् । यिनको मुख्य आहारामा स–साना शंखेकीरा वा चिप्लेकीराहरु पर्दछन् ।


२०८० फागुन २४ १२:४५ बजे

प्रतिक्रिया