कविता - पदको रगडा

bimbonline अधिवक्ता जगत प्रशाद जोशि
२०८० फागुन २३ १८:०८ बजे
अधिवक्ता जगत प्रशाद जोशि

पार्टी भित्र गुटबन्दीको, आफ्नो आफ्नै झगडा छ ।

बालुवा टारमा आज पनि, पदकै लागि रगडा छ ।। 

गाउँ शहर फसी सक्यो , अभावको कहर भित्र । 

मन्त्री ज्यु को फेरि पनि,कमिसन कै लफडा छ ।। 


बाढी पसी बिचल्ली छ, तराईको आगन भरी । 

पहाडको पाखा माथि , पहिरोको पहरा छ ।। 

सर्वहारा नेता देख्छु,  बङ्गलाको बिलाशमा । 

कर्म गर्ने किसान दाईको, खाली चुहिने टहरा छ ।।


चीरहरण भै चिच्याउदै छ, जन्मभूमि सिमानामा । 

नेता ज्यु को राष्ट्र प्रेम त, नक्शा भित्रै बखडा छ ।।

लेख्दै जादा न्याय भित्रै, अन्यायको मसी देख्छु ।

तान्यो भने तान्दा तान्दै, लहरा मै पहरा छ ।।


के गर्नु र संविधानमा, तन्त्रै तन्त्र लेखे पनी ।

घुम्ने मेचमा अन्धो मान्छे, जतिसुकै फेरे पनि ।।

सत्ता अनि विपक्षको,नियत भित्रै लफडा छ ।

बालुवाटारमा आज पनि, पदकै लागि रगडा छ ..

(अधिवक्ता जगत प्रशाद जोशि काठमाण्डौ वाट)


२०८० फागुन २३ १८:०८ बजे

प्रतिक्रिया