आगो बालेर तर्साउँदा पनि भाग्दैनन् हात्ती

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २३ ०८:५४ बजे

कञ्चनपुर। राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्‍याउन थालेको छ।

‘विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो,’ शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, ‘हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्‍यो।’ साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए।‘पेट टन्न हुने गरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो,’ उनले भने, ‘प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उनले गुनासो गरे।

हात्ती छिर्ने ठाउँमा विद्युतीय मेसवायर लगाउन एक दशक अघिदेखि माग गर्दै आए पनि पूरा नभएको उनले बताए। तीन दिनको अवधिमै हात्तीले वडा नम्बर ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ। किसानको न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठासम्म जग्गाको गहुँबाली हात्तीको बथानले नोक्सानी गरेको छ।तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्‍याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ।

वडाध्यक्ष चक्रबहादुर खड्काले वडा कार्यालयमा जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्‍याएकोले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताए।रासस


२०८० फागुन २३ ०८:५४ बजे

प्रतिक्रिया