न्यायाधीशको आश्चर्यजनक आदेश

न्यायाधीश यज्ञ प्रसाद आचार्यको एकल इजलासले २२ गतेबाट दुई दिनभित्रै अनुसन्धान गरेर चौधरीलाई हिरासतमूक्त गर्न आदेश दियो ।

bimbonline बिम्ब अनलाइन
२०८० माघ २४ ०९:१० बजे

काठमाण्डौ।बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सरकारी जमिन अनियमित तरिकाले कब्जा गरी राज्यलाई ठगी गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीशको निर्णयलाई लिएर देशब्यापी चर्चा भएको छ ।

नेपाल प्रहरीको सीआइबीद्वारा चौधरीमाथिको अनुसन्धान प्रक्रियालाई निरन्तरता दिन हिरासतमा राख्ने म्याद थपको अनुमतिका लागि सोमबार (२२ माघ) काठमाडौं जिल्ला अदालतमा पेस भएको थियो । तर यसअघि कहिल्यै कतै नसुनिएको निर्णय सुनाउँदै न्यायाधीश यज्ञ प्रसाद आचार्यको एकल इजलासले २२ गतेबाट दुई दिनभित्रै अनुसन्धान गरेर चौधरीलाई हिरासतमूक्त गर्न आदेश दियो । आदेशमा थप अनुसन्धान कार्य गर्नुपर्ने भएमा हिरासतभन्दा बाहिर राखेर नै गर्न भनिएको छ । न्यायाधीश आचार्यको इजलासबाट भएको आदेशले प्रहरीलाई स्तब्ध तुल्याएको छ । यस्तो आदेशले अनुसन्धान प्रक्रियालाई सहयोग नपुर्याउने प्रहरीको बुझाइ छ ।

यो प्रकरणमा सीआइबीले विनोद चौधरीको पनि बयान लिने भएको छ । अरुणलाई हिरासतमूक्त गर्न आदेश भएको सन्दर्भमा प्रहरीले विनोद चौधरीलाई हिरासतमा नलिइकन अनुसन्धान प्रक्रियाअघि बढाउने बुझिएको छ ।


२०८० माघ २४ ०९:१० बजे

प्रतिक्रिया