विश्व अर्बुद रोग दिवस आज मनाइँदै

bimbonline बिम्ब अनलाइन
२०८० माघ २१ ०८:०९ बजे

काठमाडौं। आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ।‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

अर्बुद रोग भनेको शरीरको कोष या कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ।यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ। डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।




२०८० माघ २१ ०८:०९ बजे

प्रतिक्रिया