सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील साहित्य माक्र्सवादी हुन्नन् । प्रगतिशील शब्दको अर्थ अगाडि बढेको भन्ने हो । अगाडि वा प्रगतिशील भन्नासाथै कसको दाँजोमा भन्ने प्रश्न उठ्छ । दास युगमा सामन्तवादी विचार र साहित्य प्रगतिशील हुन्छ भने सामन्तवादी युगमा पुँजीवादी विचारधारा र साहित्य प्रगतिशील हुन्छ । त्यस्तै, सर्वहारा क्रान्ति र समाजवादको युगमा पुँजीवादी विचारधारा प्रतिक्रियावादी र समाजवादी विचारधारा प्रगतिशील हुन्छ । यसरी प्रगतिशील र प्रतिक्रियावादी साहित्य पनि भिन्नाभिन्नै युग र देशको अवस्थाअनुसार छुटिन्छ ।
सामन्तवादी समाजमा युवक र युवतीले स्वतन्त्र छनोट गर्न पाउनु, जमीन जोत्नेको हुनु, जातभात मासिनु, व्यक्तिगत व्यापार र उद्योग बढ्नु, स्कूल, कलेज खोलिनु प्रगतिशील कदम हुन् । यी सबै पुँजीवादी लक्षणहरू हुन् । तर, पुँजीवादी समाज समाजवादी समाजमा सङ्क्रमण हुने बेलामा यी सबै कुराहरू प्रगतिशील हुँदैनन् । समाजवादी समाजमा उच्छृङ्खल युवक–युवतीको जोडीलाई घृणा गर्न थालिन्छ । उत्पादनका साधन र व्यापारको सामाजिकीकरण प्रगतिशील हुन्छ । पुँजीवादी स्कूल, कलेज र शिक्षा प्रतिक्रियावादी हुन्छ ।
आज हाम्रो समाजमा सामन्तवाद, साम्राज्यवाद, पुरानो र नयाँ उपनिवेशवादको विरोध गर्ने सबै साहित्य प्रगतिशील हुन्छन् । आध्यात्मिक दर्शन, दैवी सिद्धान्त, जातपातको भेदभाव, अन्धविश्वास, अशिक्षा, विज्ञानविरोधी भावना, आइमाईमाथिको बन्देज र असमानता, पिछडिएको खेती व्यवस्था, किसान र पिछडिएको वर्गमाथिको शोषण र दमन आदिको विरोध गर्नु सामन्तवादको विरोध गर्नु हो । त्यसै गरी विदेशी हमला, थिचोमिचो, असमान सन्धिहरू, विदेशी एकाधिकार पुँजी एवम् आर्थिक, राजनैतिक, सैनिक र सांस्कृतिक हस्तक्षेपको विरोध गर्नु तथा राष्ट्रिय पुँजी र व्यापारको विकास, भूमि सुधार, किसान र मजदुरवर्गको पक्ष लिनु सामन्तवाद, साम्राज्यवाद, पुरानो र नयाँ उपनिवेशवादको विरोध गर्नु हो । समाजवाद र सर्वहारा क्रान्ति, भियतनाम, लाओस, कम्बोडिया, प्यालेस्टिन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको मुक्ति र स्वतन्त्रता सङ्ग्रामको समर्थन गर्नु आदि सबै प्रगतिशील पाइला हुन् । किनभने, हाम्रो नेपाली समाज पनि सामन्ती, अर्ध सामन्ती, औपनिवेशिक र अर्ध औपनिवेशिक देशहरूकै अवस्थामा छ । यसकारण, देशको सामन्ती र अर्ध सामन्ती, औपनिवेशिक र अर्ध औपनिवेशिक समाजलाई पल्टाउन यी माथिका पाइलाहरू आवश्यक छन् । त्यस सामन्ती र उपनिवेशवादी अवस्थालाई खतम गर्ने सङ्घर्षमा उदार सामन्त, राष्ट्रिय पुँजीपतिवर्ग, मध्यमवर्ग, धनी किसान र अरू मजदुर किसानहरू पनि सामेल हुन्छन् ।
यसकारण, तिनीहरू प्रगतिशील हुन् किनभने तिनीहरू यस वर्तमान सामन्ती र औपनिवेशिक समाजलाई बदल्न चाहन्छन् । तर, तिनीहरू सबै माक्र्सवादलाई मान्दैनन् । माक्र्सवादी भन्नुको अर्थ पुँजीवादको पतनको अनिवार्यता, सर्वहारावर्गको हुकुम र समाजवादको अनिवार्यता मान्नेहरू तथा सोअनुसार काम गर्नेहरू हुन् । आज नेपालमा सामन्तवाद र साम्राज्यवाद तथा नयाँ र पुरानो उपनिवेशवादको विरोध गर्नेहरू सबै प्रगतिशील हुन् ।
यस्तो अवस्था चीन र अरू देशमा पनि आएको पाइन्छ । जापानविरोधी लडाइँ र नौलो जनवादी सङ्घर्षको बेलामा कम्युनिस्टहरू, प्रजातान्त्रिक पार्टीका सदस्यहरू, राजनैतिक जागृति भएका मजदुरहरू, युवक, विद्यार्थी र प्रगतिशील बुद्धिजीवीहरू प्रगतिशील फाँटमा राखिएका थिए । अहिले भियतनाममाथि अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा लड्ने तत्वहरू जरुरै प्रगतिशील हुन् । त्यस्तै, हाम्रो आफ्नोो समाजको सन्दर्भमा सामन्तवाद, साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवादको विरोधमा लेखिने सबै साहित्य प्रगतिशील हुन्छन् । सामन्ती शोषण, दमन र अत्याचारको विरोधमा किसान, मजदुर र जनताको प्रजातन्त्रको पक्षमा लेखिने सबै साहित्य प्रगतिशील हुन् ।
तर, यस कुरामा केही शङ्का छैन कि प्रगतिशील तत्वहरूमध्ये कम्युनिस्ट र माक्र्सवादीहरू सबभन्दा अघिल्लो पङ्क्तिमा हुन्छन् । तिनीहरू समाजका अग्रदूत हुन् । यसकारण, यो धेरै सम्भव छ कि प्रगतिशील साहित्यको नेतृत्व तिनीहरूले मात्रै गर्न सक्छन् । सामन्तवाद र साम्राज्यवादविरोधी कतिपय लेखक र कविहरू तथा तिनीहरूले रचना गरेका साहित्य माक्र्सवादी नहुन सक्छन् । तर, कम्युनिस्ट र माक्र्सवादीहरू तथा तिनीहरूको दर्शन अरू सबै वर्ग र दर्शनभन्दा अगाडि बढेको हुनाले तिनीहरूको साहित्य जरुरै प्रगतिशील हुन्छन् । यसकारण, सबै प्रगतिशीलहरू माक्र्सवादी हुँदैनन् तर सबै माक्र्सवादी प्रगतिशील हुन्छन् ।
प्रतिक्रिया