सिद्धान्त र व्यवहारको एकत्व

मार्क्सवादी-लेनिनवादी सिद्धान्त सत्य छ, त्यसैले यो शक्तिशाली पनि छ। सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ । सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ।

bimbonline बिम्ब अनलाइन
२०८० माघ १० १९:१६ बजे
माक्स

ज्ञान-प्राप्ति मानिसहरूको क्रियाकलापको एउटा रूप हो। यी उनीहरुको सैद्धान्तिक क्रियाकलाप हो । परन्तु सिद्धान्तले स्वतः वास्तविकतालाई बदल्न सक्तैन । यही नै सिद्धान्त र व्यवहारका बीचको अन्तर हो। सिदान्तले जगतको प्रतिबिम्ब मात्र उतार्दछ, मानवजातिको व्यावहारिक अनुभवको सामान्यीकरण गर्दछ । तर व्यवहारको सामान्यीकरण गर्दै सिद्धान्तले व्यवहारको विकासमा पनि योग दिन्छ अर्थात् त्यसलाई उल्टै प्रभावित पार्दछ । अव्यवहारिक  सिद्धान्त निरर्थक हुन्छ । सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ । सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ, व्यावहारिक उद्देश्यहरुको पूर्तिको बढी प्रभावकारी साधनहरू पत्ता लगाउन मदत गर्दछ ।

उदाहरणको निम्ति प्राकृतिक विज्ञानलाई नै लिऔं । व्यवहारको आधारमा यसको उत्पत्ति भएको थियो र यो मानिसहरूको उत्पादनसम्बन्धी अनुभवको सामान्यीकरणको उपज हो । साथै यसले उत्पादनलाई पनि अमूल्य सधाउ पुर्याउदै आएकोछ । यसले उत्पादनका नयाँ तरीकाहरू पत्ता लगाउनमा,  अति उत्पादनशील मेशीन र यन्त्रहरूको निर्माण गर्नमा, कृत्रिम कोरा पदार्थ, सामग्री इत्यादिको उत्पादन गर्नमा मदत गर्दछ । 

सामाजिक विकासमा मार्क्सवादी-लेनिनवादी शिक्षाको ठूलो महत्त्व छ।यो सिद्धान्त वास्तविकताको सही र ज्यादै गहन प्रतिबिम्ब हो, सर्वहारावर्गको क्रान्तिकारी संघर्षको व्यावहारिक सामान्यीकरण हो । फेरि यसले समाजवाद तथा साम्यवादको निर्माणको लागि सर्वहारावर्गको संघर्षमा नेतृत्व प्रदान गर्दछ। मार्क्सवादी-लेनिनवादी सिद्धान्त सत्य छ, त्यसैले यो शक्तिशाली पनि छ। यसले सामाजिक विकासका वास्तविक नियमहरूको उद्घाटन गर्दछ र कम्युनिष्ट पार्टीहरूलाई वर्तमान समयमा कसरी सही रूपले काम गर्नुपर्दछ भन्ने मात्र नभैकन कसरी भविष्यलाई अघिबाटै देख्न सकिन्छ र कसरी दीर्ष कालसम्म व्यावहारिक क्रियाकलापलाई वैज्ञानिक रूपले नियोजित गर्न सकिन्छ भन्ने पनि सिकाउँदछ । मार्क्सवादी-लेनिनवादी सिद्धान्तको क्रमिक विकास गर्नु, परिपक्व समाजवादका नियमहरूको अनुसन्धान गर्नु र वर्तमान विश्वव्यापी प्रक्रियाको विकास गर्नु नै कम्युनिष्ट पार्टीले आफ्नो महत्त्वपूर्ण दायित्व र पवित्र कर्तव्य ठानेको छ ।

सिद्धान्त र व्यवहारको एकत्व नै मार्क्सवाद-लेनिनवादको सर्वोच्च सिद्धान्त हो। हाम्रो समयमा, जब दिन प्रतिदिन कामदारहरूको सैद्धान्तिक, मार्क्सवादी- लेनिनवादी ज्ञान, सुदक्ष व्यावहारिक तयारीको माग बढ्दैछ, जब साम्यवादी निर्माणको आधुनिक चरणले आर्थिक तथा सामाजिक प्रक्रियाहरूको नेतृत्व- सम्बन्धी जटिलतम कार्यभारहरूको अविलम्ब समाधानको माग गर्दैछ, यस सिद्धान्तले विशेष ठूलो महत्त्व लिन पुगेको छ । तसर्थ भविष्यमा पनि सिद्धान्तले नै व्यवहारको लागि बाटो देखाउनेछ, सोभियत जनताको आर्थिक एवम् सांस्कृतिक जीवनको नेतृत्वमा वैज्ञानिक दृष्टिकोण सुनिश्चित गराउनेछ । व्यापक सैद्धान्तिक कार्य साम्यवादको बाटोमा उज्जवल प्रकाश स्तम्भ बन्नेछ ।( भिक्टर आफानासयेभको दर्शनशास्तको किताव वाट)


२०८० माघ १० १९:१६ बजे

प्रतिक्रिया