मलाई लेख्न बस्यो कि चुरोटको तलतल लागिहाल्छ । हातमा चुरोटको खिल्ली छैन भने दिमाग नै खुल्दैन । केही कुरा पनि सोच्न सक्दिनँ – एक पत्रकार मित्र
मैले त कम्प्युटरको काम पनि कम गर्न थालें । कम्प्युटरमा बस्यो कि चुरोट खान मन लागिहाल्छ । चुरोट खाइनँ भने त केही पनि काम गर्नै सक्दिनँ ।
–ग्राफिक डिजाइनर साथी
मलाई पनि सूर्ति नखाइकन त केही काम पनि गर्नै मन लाग्दैन । सूर्ति नखाइकन त म हिसाब गर्नै सक्दिनँ । ध्यान नै कता जान्छ कता – एउटा अफिसका एकाउन्टेन्ट
हैन दाइ, खै चुरोट खानु पर्यो । मलाई चाहिँ सूर्ति है थाहा त छ नि, यसले फाइदा गर्दैन भन्ने, तरपनि यो नखाइकन कामको मेलो नै सर्दैन । लौ न, केही चुरोट र एक दुई प्याकेट सूर्ति ल्याइदिनु पर्यो -– घर बनाउन खटिएका मजदूर साथीहरु
यहाँ माथि उल्लेख भएका कुराहरु कुनै काल्पनिक घटनाहरु हैनन् । यी त सवैले विगतमा सुन्दै र भोग्दै आएका सत्य घटनाहरु हुन् ।पटक पटक यस्ता कुराहरु सुन्दै आएपछि चुरोट र सूर्तिको अम्मल पटक्कै नभएको मेरो मनमा त्यसको कारण जान्न खुल्दुली जाग्यो । खोज्दै, बुझ्दै र पढ्दै जाँदा के थाहा लाग्यो भने, यी सबैका पछाडि जरो कारण त एउटै रहेछ त्यो हो चुरोट वा सूर्तिमा पाइने घातक रसायन निकोटिन ?
निकोटिनको प्रयोगः हजारौं वर्षको इतिहास-आजभन्दा हजारौं वर्षअघिदेखि नै मानिसहरुले सूर्तिलाई धूम्रपान वा खैनीको रुपमा खान वा सेवन गर्न थालिसकेका थिए । सूर्तिखेतीको शुरुवात सबैभन्दा पहिले करिब इशापूर्व ६००० वर्षअगाडि उत्तर तथा दक्षिण अमेरिकाबाट भएको थियो । शुरुमा यूरोप तथा एशियाका मानिसहरुलाई अमेरिकाबारे जानकारी थिएन । चौधौं शताव्दीमा स्पेनका क्रिस्टोफर कोलम्बस त्यहाँ पुगेपछिमात्र अमेरिकाबारे बाँकी विश्वलाई थाहा भयो । यूरोपेलीहरुलाई अमेरिकाबारे थाहा भएपछि उनीहरुले कालान्तरमा त्यसलाई उपनिवेश नै बनाए र त्यहाँका प्राकृतिक स्रोतहरुलाई दोहन गर्न थाले ।
त्यही क्रममा यूरोपेलीहरुले अमेरिकामा पहिलेदेखि भएको सूर्तिको ठूलो पैमानामा उत्पादन गरी त्यहाँबाट यूरोप र विश्वका अन्य भागहरुमा व्यापक रुपले निर्यात गर्न थाले । यसरी निकोटिनको प्रमुख स्रोतको रुपमा रहेको सूर्तिको विश्वव्यापी रुपमा खेती र निर्यातको शुरुवात भयो ।
सूर्तिको असरको बारेमा परापूर्वकालदेखि नै विवाद चल्दै आएको छ । शुरुशुरुमा सूर्तिले मानिसलाई प्लेगको महामारीबाट जोगाउँछ भन्ने विश्वाससमेत गरिन्थ्यो । तर लामो समयसम्म सूर्तिको सेवन गर्दा विभिन्न खराबीहरु पनि देखिन्थ्यो । त्यसैले मानिसहरु के विश्वास गर्थे भने सूर्ति र विभिन्न घातक रोगहरुका बीचमा अवश्य पनि कुनै सम्बन्ध हुनुपर्छ । त्यसबेला विज्ञान तथा प्रविधिको विकास भइनसकेकोले मानिसहरुको यो शंका प्रमाणित त हुन सकेन तर पछि विज्ञानले त्यसलाई सही ठहर्यायो ।
निकोटिन के हो -निकोटिन प्राकृतिक रुपमा पाइने तरल अल्कलोइड रसायन हो । यसको रासायनिक सूत्र (C10H14N2) हो । यो रसायन कार्बन, हाइड्रोजन र नाइट्रोजन तत्वहरुको रासायनिक संयोगबाट बनेको हुन्छ । यस्तै अर्को किसिमको अल्कलोइड रसायन क्याफिन पनि हो, जुन कफी, चियामा पाइने गर्छ । यही कारण कफी, चियाको सेवन गर्न थालेपछि, चुरोट खान थालेपछि मानिसलाई त्यसको तलतल लाग्ने गर्छ । किनभने, यस्ता अल्कलोइड रसायनले मानिसको शरीरमा प्रभाव पार्ने र एक किसिमको आनन्ददायी उत्तेजना पैदा गर्ने गर्छ ।
एउटा सूर्तिको बोटमा करिब ५ प्रतिशत निकोटिन हुने गर्छ । एउटा चुरोटमा चाहिँ त्यसको ब्राण्ड हेरेर निकोटिनको मात्रा ८ देखि २० मिलिग्रामसम्म हुन सक्छ । रोचक त के छ भने, चुरोट खाँदा त्यसमध्ये पनि १ मिलिग्राम जतिमात्र हाम्रो शरीरले ग्रहण गर्ने गर्छ । मात्रा यति थोरै भएपनि त्यसले मानिसलाई आनन्द प्रदान गर्ने र त्यसको लत बसाइहाल्छ ।
शरीरमा निकोटिन कसरी घुस्छ– कसरी फ्यालिन्छ -अन्य लठ्याउने रसायनहरु जस्तै निकोटिनलाई पनि हाम्रो शरीरले विभिन्न भागबाट ग्रहण गर्न सक्छ । तीमध्ये पनि निम्न भागहरुबाट यो रसायनलाई हाम्रो शरीरले प्रमुख रुपमा ग्रहण गर्ने गर्छस- छाला , फोक्सो, म्यूकस मेम्ब्रेन ((जस्तो, गिजा वा नाकका तहहरुबाट) ।तर हाम्रो शरीरमा सबैभन्दा बेसी निकोटिन भित्र्याउने चीज चाहिँ चुरोट नै हो । हाम्रो फोक्सोमा स–साना हावाका थैलाहरु करोडौंको संख्यामा रहेका हुन्छन् । यी थैलाहरुको काम फोक्सोमा हावा लिने र फ्याल्ने नै हो । तर चुरोट खाँदा यी हावाका थैलाहरुमार्फत् निकोटिन हाम्रो रक्त प्रणालीमा मिसिने गर्छ ।
यी उल्लेखित माध्यमहरुबाट शरीरमा प्रवेश गरेको निकोटिन स–साना रक्तनलीहरुमा प्रवेश गर्ने गर्छ । ती रक्तनलीहरुभएर निकोटिन रगतमा मिसिन पुग्छ र रगत हुँदै यो तुरुन्तै मस्तिष्कसम्म पनि पुग्छ । रगतको माध्यमबाट यो रसायन शरीरका अन्य भागहरुमा पनि पुग्ने गर्छ । यसरी शरीर र मस्तिष्कमा पुगेको निकोटिनले विभिन्न असरहरु गर्ने गर्छ । तर चुरोट वा सूर्ति खाँदा हामीलाई आनन्द महशूस हुने र यसलाई छोड्नै मन नलाग्ने गरी लत लाग्नुको कारण चाहिँ मस्तिष्कमा यसले छोड्ने गहिरो प्रभाव नै हो । सूर्ति वा चुरोट सेवन गरेको १० देखि १५ सेकेण्डमा नै यसका दुव्यसनीहरुलाई निकोटिनको प्रभाव भइहाल्छ ।
त्यसो त निकोटिनको प्रभाव हाम्रो शरीरमा लामो समयसम्म रहिरहँदैन । यसको असर करिब ६० मिनेटसम्म मात्र रहने गर्छ । चुरोट खाएको करिब ६ घण्टापछि शरीरमा घुसेको १ मिलिग्राममध्ये पनि ०.०३१ मिलिग्राम निकोटिनमात्र हाम्रो शरीरमा रहिरहन्छ ।
अब खुल्दुली जाग्न सक्छ– बाँकी निकोटिन चाहिँ कहाँ जान्छ त -शरीरमा घुसेको निकोटिनको ८० प्रतिशत भागलाई हाम्रो कलेजोमा हुने इन्जाइमहरुले कोटिनिन नामक रसायनमा परिणत गरिदिन्छ । त्यसैगरी, निकोटिनलाई हाम्रो फोक्सोले पनि कोटिनिन र निकोटिनअक्साइडमा परिणत गरिदिन्छ । यसरी परिणत भएको कोटिनिन र निकोटिनअक्साइड चाहिँ मुत्रको माध्यमबाट शरीरबाट बाहिरिन्छ । रोचक त के छ भने, कोटिननको जम्मा आयु ४८ घण्टामात्र हुन्छ । त्यसैले कसैले पछिल्लो एक वा दुई दिनमा चुरोट खाए नखाएको कुरा उसको मुत्रमा कोटिनिनको मात्रा जाँचेर पनि पत्ता लगाउन सकिन्छ ।फोक्सो वा कलेजोले छान्न नसकेको बाँकी निकोटिन चाहिँ रगत शुद्ध गर्ने क्रममा हाम्रो मृगौलाले छान्ने गर्छ । त्यसरी छानिएको निकोटिन पनि मुत्रकै माध्यमबाट शरीरबाट बाहिरिने गर्छ ।
सूर्ति वा चुरोटको तलतल किन लाग्छ -सूर्ति खानथालेपछि मानिसलाई त्यसको तलतल फेरि फेरि लाग्ने गर्छ । कसैले लहडमा वा रहरले यसको सेवन गरेपछि फेरि अर्को पटक पनि यसलाई उपयोग गर्न मनलाग्न थाल्छ । त्यसको सेवन गर्ने मानिसलाई यो कुरा राम्ररी नै थाहा हुन्छ– सूर्तिको सेवनले फाइदाभन्दा बढी नोक्सान नै गर्छ । तरपनि उसले त्यसको सेवन गर्ने मोह त्याग्न सक्दैन । यस्तो चाहिँ किन हुन्छ ?वास्तवमा, सूर्तिको सेवन गरेपछि मानिसलाई एक किसिमको रमाइलो अनुभव हुन्छ । अझ कतिपयलाई त अत्यन्तै खुशी र रोमाञ्चको पनि अनुभव हुन्छ । प्राकृतिक अवस्थामा नै सूर्तिमा धेरै रसायनहरु हुने गर्छन् र अझ त्यसलाई चुरोट बनाउँदा कतिपय थप रसायनहरु पनि मिसान्छन् । तर मानिसलाई तलतल लगाउने रसायन चाहिँ सूर्तिमा हुने निकोटिन नै हो । त्यही निकोटिनले नै मानिसलाई आनन्द र रोमाञ्चको अनुभूति दिन्छ, जसले उसलाई एउटापछि अर्को चुरोट वा खैनी खानको लागि उत्प्रेरित गर्ने गर्छ ।
प्रतिक्रिया