कविता- आँखाको निश्चल पुतलीमा

bimbonline पारिजात
२०८० माघ ७ १४:०७ बजे
पारिजात

के तपाईं थाहा पाउनु भो भन्दै

रूख, बिजुलीको लट्ठा र लेटर बक्सलाई 

समेत मान्छे ठानेर

मान्छे नै मानेर

घच्घच्याउँदै हिँडिरहेछ

एउटा सन्तुलित सत्य बोकेको

असन्तुलित मान्छे,

उसले केवल मान्छेलाई घच्घच्याएको छैन 

उसले भित्तालाई समात्दै छ

माइलस्टोनलाई पनि तान्दै छ र सोध्दैछ

के तपाईंले थाहा पाउनु भो ?

नेपाल भर्खरै मन्यो नि 

ट्रकले कुल्चिएर मरेको

रोडा बोक्ने बालकको मृत्युमा, 

उदास छाप्रोमा पर्खिरहेको 

उसको एक मात्र अन्धो बाबुको 

आँखाको निश्चल पुतलीमा

 नेपाल भर्खरै मन्यो ।

( पारिजातको कविता  सँग्रह वाट)


२०८० माघ ७ १४:०७ बजे

प्रतिक्रिया