दोलखामा हिमपात: पर्यटकले भरिए कालिञ्चोक

bimbonline बिम्ब अनलाइन
२०८० माघ ३ ०७:४९ बजे

दोलखा । दोलखाको कालिञ्चोक, सैलुङ्ग लगायतका विभिन्न पर्यटकीय क्षेत्रमा हिमपात सुरु भएको छ । यो सँगै यी क्षेत्रहरुमा पर्यटकको घुइँचोसमेत लाग्न थालेको छ । लामो समयपछि क्षेत्रहरुमा हिमपात भएपछि स्थानीय व्यावसायीहरु समेत खुशी भएका छन् । यसअघि हिमपात नभएकै कारण व्यावसायीहरुमा निराशा छाएको थियो ।

हिमपात भएसँगै अब २५००० देखि ३०००० को हाराहारीमा पर्यटक भित्रन सक्ने कालिन्चोक दर्शन लिमिटेडका व्यवस्थापक तिलक प्रसाद दुलालले बताए । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा गत बर्ष फागुनमा मात्र हिमपात सुरु भएको थियो ।यो वर्ष भने माघ लाग्ने वित्तिकै हिमपात सुरु भएको हो । अहिले हिमपातमा रम्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालिसकेको छ ।

यतिबेला हिमपातका कारण कालिञ्चोक मन्दिर, सैलुङ्ग डाँडा, खरि ढुङ्गा लगायत आसपासका पहाड र कुरी बजार समेत सेताम्य भएको छ । जुन दृष्यले पर्यटकहरुलाई समेत लोभ्याइरहेको छ ।‘हिउँमा रमाउन अत्यन्तै मनपर्ने भएकोले हामीहरु हिमपात भएको सुन्ने वित्तिकै कालिन्चोक आएको हौँ,’ आन्तरिक पर्यटक किशोर बुढाथोकीले भने ।

खरिढुंङ्गा आसपासमा आउँदा आउँदै अझ बढी हिमपात भएकोले आफुले अझ बढी मज्जा लिने मौका पाएको अर्का पर्यटक कौसिक मैतिको भनाइ छ ।गत बर्षभन्दा एक महिना अघि नै हिमपात भएको कारण व्यवसायमा समेत केही राहत पुग्ने त्रीपुरा रिसोर्ट कालिन्चोकका संचालक चन्द्र लामाले बताए ।गत वर्ष फागुन महिनामा मात्रै हिम पात भएको थियो। यसवर्ष भने माघ लाग्ने वित्तिकै दोलखाका धेरैजसो स्थानहरुमा हिमपात भइरहेको हो ।


२०८० माघ ३ ०७:४९ बजे

प्रतिक्रिया