नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् वैठक सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० माघ १ १४:१० बजे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ३५ औँ केन्द्रीय परिषद् पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शनिबार सम्पन्न भयो 

शुक्रबार र शनिबार बसेको उक्त परिषद्मा अध्यक्ष बिजुक्छेँले पूर्णकालीन कार्यकर्ता बनेर पार्टी काममा लाग्नुपर्ने, पार्टीसँग जीवित सम्पर्कमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने, आफ्नो व्यक्तिगत जीवनबारे पनि पार्टीमा जानकारी दिनुपर्ने, पार्टीभित्र प्रतिक्रियावादीहरू घुस्नेबारे सचेत हुनुपर्ने, पार्टी कार्यकर्ताले अन्धविश्वासको विरोध गर्नुपर्ने, पुर्खाले सिर्जेको वास्तुकला र संस्कृतिलाई संरक्षण गर्नुपर्नेलगायतका विषयमा चर्चा गर्नुभयो ।

परिषद्ले पार्टीको ५० औँ स्थापना दिवस (२०८० माघ १०) को अवसरमा वर्षभरि नै जिल्लाको स्थानीय तह, वडा र टोलसम्मका प्रारम्भिक पार्टी समितिहरूमा समेत पार्टीको प्रकाशन, क्रान्तिकारी नेताहरूको जीवनी, विश्वका मजदुर र कम्युनिस्ट आन्दोलनहरूबारे अध्ययन र अन्तरक्रिया गर्ने, कार्यकर्ता, शुभेच्छुक र जनताको राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउनेलगायत निर्णय गर्यो ।

परिषद्बारा पारित राष्ट्रिय प्रस्तावमा भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मको योजना बनाई सिधै खर्च गर्ने र नेपालको दस हजार मेघावाट बिजुली भारतलाई दिने पुस १९ गतेको सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि डुबानमा पर्ने गरी सिमानामा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले एकतर्फी बनाएका बाँधहरू भत्काउनुपर्ने, नेपालको हितविपरीतका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु कर्णाली, अरुण तेस्रो, तल्लो अरूण, अरूण चौथो, पश्चिम सेती, सेती नदी , फुकोट कर्णाली, पञ्चेश्वरलगायत सन्धि सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि कालापानीमा बसेका भारतीय सेनालाई तत्काल हटाउनुपर्ने, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्ने, नेपाल–भारतबिचको खुला सीमा बन्द गरी नियमन गर्नुपर्ने उल्लेख छ ।

अमेरिकी स्वार्थको लगानी र नेपालले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र नेपाली सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी अविलम्ब खारेज गर्नुपर्ने, जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित जनताको पुनस्र्थापन तत्काल गर्नुपर्ने, न्यायालयमा शासक दलहरूको भागबन्डा रोक्नुपर्ने पनि राष्ट्रिय प्रस्तावमा उल्लेख गरेका छन।


२०८० माघ १ १४:१० बजे

प्रतिक्रिया