स्थानीय गुड पाउनै मुस्किल

bimbonline बिम्ब अनलाइन
२०८० पुष १९ ०८:३२ बजे

बैतडी।  गुड (सखर) का लागि प्रसिद्ध बैतडी जिल्लामा पछिल्लो समय गुड पाउन मुस्किल हुन थालेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा गुड पकाउने चलन हराउँदै गएको छ । स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा यस कामप्रति कसैले चाँसो नदिएको स्थानीयवासी बताउँछन् । विगतका वर्षमा ३० ताउला उखु पेल्दै आउनुभएका सिगासका लालमणि भट्टले यो वर्ष पाँच ताउला गुड तयार भएको बताउनुभयो ।

पुस दोस्रो हप्तादेखि माघ, फागुन र चैतसम्म उखु पेल्ने चलन रहेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पाँच घण्टा आगोमा पकाएपछि गुड तयार हुन्छ । स्थानीय किसानले घरायसी उपभोगका लागि मात्रै उखु लगाउन थालेका छन् । गाउँमा उखु पेल्ने युवा नै नभएकाले दिउँसो एक ताउला पेलेर साँझ नपर्दै खुदेउडा बन्द हुने गरेको उखु किसान परमानन्द भट्टले बताउनुभयो ।

यहाँको गुड प्रतिकिलो दुईदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरेको छ । यो वर्ष उखु कम लगाएकाले बिक्री गर्न नपुगेको उहाँले बताउनुभयो ।आयुर्वेदिक औषधीका रूपमा पनि गुडको प्रयोग हुँदै आएको छ । सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले गुडको अभाव देखिन थालेको बताउनुभयो । 

तामाको भाँडामा पकाएको गुड शरीरका लागि अमृत समान भएको दाबी उहाँले गर्नुभयो । गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीमा प्रयोग हुने गरेको छ । गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तत्व पाइन्छ । उहाँका अनुसार, गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुन्छ । स्थानीय स्तरमा गुड नपाएपछि बाहिरी जिल्ला र भारतीय बजारबाट आएको गुड र चिनी बिक्री गर्दै आइरहेको स्थानीय व्यापारी शेरसिंह भण्डारीले बताउनुभयो ।  

स्थानीय शिक्षक धनबहादुर ऐरीले एक किलो गुडको मूल्य दुईदेखि तीन सय रुपियाँ पर्ने भएकाले सय रुपियाँ किलोमा पाइने भारतीय चिनीको प्रयोग बढेको बताउनुभयो । गोरखापत्र अनलाइन


२०८० पुष १९ ०८:३२ बजे

प्रतिक्रिया