कविता : रजस्वला

bimbonline गँङ्गा पोखरेल
२०८० पुष १५ १५:२१ बजे

काठमाण्डौ।

म कञ्चन छु

पवित्र छु,

मेरो अस्तित्व उच्च हिमानीझैं

सफा छ, स्निग्ध छ ।

मैले मान्ने देवी देवता सर्वत्र व्याप्त छन

यो धर्ती, यो आकाश, यो प्रकृति

सूर्य, चन्द्र, जल, वायु,

माता, पिता, गुरु अनि आफन्तजन,

कोही मेरा लागि अछुत होइनन् 

तर म कसरी भएँ व्यर्थ अछुत ?


रजस्वला,

एक प्रकृति प्रदत्त प्रक्रिया

बिहानीको कलिलो घाम अङ्गाल्न आउँदा

पछि हट्न मिल्दैन मैले,

न घामले गर्छ भेदभाव

रातमा सीतलता दिने जून

मेरै शिरमा नाच्ने गर्छ,

पन्छिन सक्दिनँ म

न भाग्छ जून नै

सिरसिरे पवन

मेरो अङ्ग प्रत्यङ्ग स्पर्श गर्दै

मलाई नै सुमसुमाएर जान्छ,

देख्दैन ऊ मलाई रजस्वला भएको ।


ठुली भएकी छु

बुझ्छु सबै कुरा,

मलाई छुन हुन्न भनेर

कुन देउताको पाठ पढाइरहेछ समाज ?

जुन देउताको स्पर्शविना

म एकपल, एकक्षण रहन सक्दिनँ ।


त्यही देउता मेरो पनि हो, तिम्रो जस्तै

के शहरका देउता र गाउँका देउता फरक हुन् ?

नत्र किन गरिन्छ देउताका एकै सन्तानमा भेदभाव ?

म कहाँ भेट्न सक्छु,

यो अनुत्तरित प्रश्नको जवाफ ?


रजस्वला नहोस् भनेर

ग्रामीण नवकिशोरीलाई

गर्वनिरोधक चक्की सेवन गर्न बाध्य पार्ने

दानवहरू कुन देउताको बखान गर्छन् ?

जोखिममा परेको स्त्री अस्तित्व रक्षार्थ

कुन पुरुष ढाल बनेर उभिन सक्छ ?


पाप र पुन्य

स्त्री र पुरुष

दुबै बराबरी हो भने

स्रष्टाको संरचना

जसरी धमिलो पानी बगे पनि

नदी पवित्र हुन्छ

त्यसरी नै

रजस्वला भए पनि

स्त्री पवित्र हुन्छे ।



२०८० पुष १५ १५:२१ बजे

प्रतिक्रिया