सडकसँग जोडिन थाले दुर्गम गाउँबस्ती

bimbonline बिम्ब अनलाइन
२०८० पुष ९ ०८:२६ बजे

बझाङ। दुर्गाथली गाउँपालिका–१, का विजय तिरुवालाई सवारीसाधन चढेर आफ्नो गाउँसम्म आउन पाइएला भन्ने कुराको विश्वास नै थिएन । यस्तो डाँडा, कठिन भिरपाखा र पहाडमा सडक बन्ला र गाडी आउला भन्ने कुरा तिरुवालगायत कतिपयका लागि सपना जस्तै थियो । गाउँ गाउँमा सडक पुग्ला र घर घरमा सवारीसाधन आउलान, यहाँका दुर्गम गाउँ सुगम सहर जस्तै सुविधायुक्त होला भनेर त झन् आफूले कहिलै कल्पनासम्म नगरेको उहाँ बताउनुहुन्छ । त्यस्तै दुर्गाथली गाउँपालिका–६, चुहावनका वीरभान महताले एक महिना लगाएर टनकपुर र झुलाघाट दैनिक उपभोग्य वस्तु नुन तेल किन्न हाट गएको सम्झँदै भन्नुभयो, ती दुःखका दिन ताजै छन् । 

“देशमा लोकतन्त्र आएपछि गणतन्त्र आएपछि ग्रामीण क्षेत्रमा विकास भएको मान्नै पर्छ,” उहाँले थप्नुभयो, “हाम्रो जस्तो दुर्गम गाउँमा समेत यसरी सडक बन्ला र गाडी चढेर आउला भन्ने त सपनामा थिएन ।” घरआँगनमै गाडी आउला र गाउँमा फलेको फलफूल, दुध, घिउ, भटमास, जडीबुटीलगायत वस्तु निर्यात गरेर आम्दानी होला भनेर त यहाँका स्थानीयले सोचेकै थिएनन् । सडकको पहुँचसँगै दुर्गम गाउँको टोल टोलसम्म मोटर गाडी पुगेको छन् । 

नुन, चामल, कपडा, गहुँलगायत आवश्यक उपभोग्य वस्तु किन्नलाई स्थानीय मौरीबगर बजार पानी पँधेरो जस्तै भएको छ । सामान्य वस्तु किन्नलाई पनि दुई दिन पैदल हिँडेर पिठिउँमा सामान बोकेर ल्याउनुपर्ने अवस्था थियो । स्थानीय सरकारले दुर्गम बस्तीलाई सडक सञ्जालमा जोडेसँगै दुर्गम बस्ती सुगममा परिणत भएका छन् । दुर्गाथलीका विभिन्न बस्ती तथा वडालाई सडकसँग जोड्न एक करोड ५० लाख रुपियाँ विनियोजन गरी सडक निर्माण गरिएको छ । (दुर्गाथली माथिल्लो क्षेत्रमा विशेष गरी आलु, चोतो (मुला), सिमी, भटमास र फलफूल मात्र उत्पादन हुने गर्छ । यस क्षेत्रका अधिकांश युवा आयआर्जनको सम्भावना नभएकाले वैदेशिक रोजगारीका लागि भारतसहितका तेस्रो मुलुक जान बाध्य छन् । 

पछिल्लो समयमा सडक विस्तारसँगै स्थानीय उत्पादनले समेत बजार पाउन थालेको छ । छबिसपाथीभेरा गोरख धामीले भन्नुभयो, “नियमित सडक मात्र सञ्चालनमा आएमा यस क्षेत्रबाट धेरै कुरा निर्यात गर्न सकिने सम्भावना छ ।” दुई वर्षअगाडि आफूले उत्पादन गरेको तरकारी सडक अवरुद्ध भएका कारण बारीमा कुहिएको अनुभव सुनाउँदै उहाँले गरेर खाने मान्छेका लागि अहिले गाउँमा आम्दानीको राम्रो सम्भावना रहेको बताउनुभयो । दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्यालले विकट गाउँ पनि सडक सञ्जालसँग जोडिएपछि खरले छाएका घरहरू पक्की बनाइएको बताउनुभयो । ससाना बजार बस्न थालेका छन् । एक गाउँमा पाँच\छ वटा पक्की घर निर्माण हुन थालेका छन् । 

पक्की घर निर्माणका लागि सिमेन्ट, सरिया, बालु्वा, ढुङ्गालगायतका वस्तुहरू ढुवानी गर्नसमेत सहज भएको छ । पालिका अध्यक्ष दिलबहादुर थापा सडक निर्माणका लागि ठुलो एक्साभेटर किनेर नियमित सञ्चालन हुने गरेको बताउनुभयो । सडक नपुगेका टोलमा सडकको पहुँच पुर्‍याउने कामलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको जानकारी उहाँले दिनुभयो । यो पालिकामा १४ वटा ग्रामीण सडक छन् । ठेकेदार कम्पनीमार्फत काम गर्दा ढिलो र गुणस्तरहीन हुने भएकाले पालिकाले एक्साभेटर खरिद गरी सडकको स्तरोन्नतिलगायत काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।  गोरखापत्र अनलाइन


२०८० पुष ९ ०८:२६ बजे

प्रतिक्रिया