एक दिन म सानै छदा
सिमखेत जोत्दै बुबाले भन्नुभयो,
बाबु यो घर्ती भन्दा ठूलो केही छैन
मैले उहाँको कुरा त केही बुझिन
तर घाटीमा भिरेको सानो मादल
खुशीले ट्याङ ट्याङ पारे,
म अलि बुझ्ने र पढ्न जान्ने भएपछि
बाँसको कलमले पाटीमा
क– माने कल्नो
ख– माने खन्यू
ग– माने गरीब
ध– माने धर्ती लेखें
तर ती कमेरो माटोले लेखेका
अक्षरहरू
पानीका बाछिटाले मेटाई दिन्थ्यो
वर्षभरि पाखुरा बजारे पनि
पेटभरि खान नपुग्दा
यो मन त्यसै त्यसै अत्तालिन्थ्यो
एक दिन आमाले गहूँको चोकरको
ढिंडो ओराल्नुभयो विनास्वादको
त्यै पनि हामी सबैले मीठो मानी मानी खायौ
आमाले गह गह आँशु ल्याउर भन्नुभयो,
बाबु भोक भन्दा संसारमा ठूलो केही छैन,
हो जीउनका लागि हामीले खानै पर्दछथ्यो र
खायौैै ।
एकदिन सुकल बुन्दै आमाले भन्नुभयो,
सुख दुःख त परालमा बेरिएर आउँछ बाबु
धैर्य गर्न सक्नुपर्छ,
तर मैले धैर्य गर्न सकिन
कसम तोडे, देश छोडे
मनमा प्रश्नहरूले लखेटी रहन्छन्
जीवनका गल्छेडाहरूमा म के गर्दैछु
म आफैलाई थाहा छैन
जीवन बाच्दै छु वा बनाउँदै छु
आमा ! आमा !! भनेर
कहिले काही मध्यरातमा चिच्याउँछु
संम्झदा यो मन भतभती पोल्छ
सुगन्ध बोकेर रातरानी मगमगउँदाको क्षण
राप्ती नदीमा उठ्ने ज्वारभाटाका छालहरू
झुमरा, बड्का, सखिया नाचका मादलका तालहरू
संझनाले सताइहरन्छ
मैले रोपेको आँपको कमली कत्रो भयोहोला ?
केउलीले आजभोलि मलाई संझन्छे की नाई
कसको म प्रतिको प्रेम कस्तो होला ?
मनको वह भेटमा पोख्नेछु,
हाम्रो रागत समुन्द्रमा मिस्सिएरै त
नुनिलो भएको हो,
अरबको बालुवाको अमिलो गंध
हाम्रो पसिना मिसिएरै त अमिलो भएको हो
हामी वीर गोर्खालीको जीवन पनि मदारीको जस्तो छ
एकसरो लुगा फेर्न एकछाक टार्न र धनका लागि
नाचिरहेछ संसार भरि,
म घर फर्किएरै पुरा गर्नेछु आमाका सपनाहरू
जिम्मुवालले लिएको खरवारी फिर्ता गर्नु छ ।
आमाको बंधकीको नाथिमा
साहुँ कहाँबाट ल्याउनु छ ।
अनि झुपडी र घडेरैको पैसा निखन्नु छ ।
आमाले कैयौ पटक भन्नुभएको थियो
बाबु त जन्मदा म खुसीले खुब रोएकी थिएँ,
तर के मैले पुरा गर्न सकुला
आमाका समपनाहरू ???
( कवि- रक्तिम साँस्कृतिक अभियानका पुर्व अध्यक्ष हुनुहुन्छ)
प्रतिक्रिया