विकृति रोक्न नेपालमा पनि टिकटक बन्द

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २७ १९:५७ बजे

काठमाडौँ । इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ ।  

मध्य एसियाली मुलुक किर्गिस्तानले अगस्त ३० देखि बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको दुरुपयोग गर्दै अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बेलायतले सुरक्षाको कारण देखाउदै मन्त्री, सचिवलगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सन् २०२३ मा गरिसकेको छ । त्यस्तै, अमेरिकाले पनि सुरक्षाका कारण सरकारी प्रणालीमा आबद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२ मा गरेको थियो । न्यूजिल्यान्डले सुरक्षाको कारण देखाउँदै सरकारी एप्लिकेसन प्रणालीसँग आबद्धता प्रतिबन्ध सन् २०२३ मा गरेको हो । अन्य देशमा क्यानडाले गोपनीयता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीको प्रयोगमा प्रतिबन्ध सन् २०२३ मा लगाएको हो । ताइवानले  पनि राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२२ मा यसमाथि प्रतिबन्ध लगाएको थियो । 

सोहीअनुसार बेल्जियमले गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३ मा टिकटकमाथि प्रतिबन्ध लगायो । डेनमार्कले साइबर सुरक्षा जोखिमको कारण देखाउँदै सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३ मा गरिसकेको छ । पाकिस्तानले जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउँदै यसमाथि सन् २०२० मा नै प्रतिबन्ध लगाइसकेको छ । 

त्यस्तै, अफगानिस्तानले युवाहरूमा नकारात्मकता विकास हुने र जातीय धार्मिक द्वन्द्व फैलिने जोखिम र इस्लामिक कानुनविपरीत देखाउँदै सन् २०२२ मा टिकटक र पव्जीमाथि प्रतिबन्ध लगाएको थियो । छिमेकी मुलुक भारतले समेत गोपनीयता, सुरक्षा जोखिम र  टिकटकको बाइट डान्स टेक्नोलोजी जोखिम देखाउँदै टिकटक लगायत चीनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध सन् २०२० मा लगाएको थियो । 



२०८० कात्तिक २७ १९:५७ बजे

प्रतिक्रिया