देहरादूनमा लाहुरेको रेलिमाई

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २४ १३:०० बजे

भारत देहरादून।  विजय हितानद्वारा लेखिएको उपन्यास लाहुरेको रेलिमाईको हालै देहरादूनमा एक भव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनद्वारा आयोजित यस कार्यक्रममा त्यहाँ बसोबास गर्ने प्रायः गोर्खा सैनिक र साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगतबहादुर रानाले गरेका थिए भने प्रमुख आतिथ्य गोर्खाली सुधार सभाका अध्यक्ष पदमसिंह थापाको रहेको थियो । उपन्यासको समीक्षात्मक टिप्पणी भूपेन्द्र अधिकारी र उदय ठाकुरले गरेका थिए ।

देहरादूनमा साहित्यिक गतिविधि त्यति धेरै नभैरहेको अवस्थामा लाहुरेको रेलिमाई उपन्यासको विमर्शले त्यहाँ रहेका नेपाली भाषी साहित्यकार र साहित्यप्रेमीहरूलाई साहित्यिक प्रेरणा दिने छ भन्दै यस युद्ध उपन्यासले गोर्खा लाहुरेको संवेदनालाई अति सरल भाषामा व्यक्त गरेको कुरा समीक्षक अधिकारीले उल्लेख गरे । उपन्यासमा सम्पूर्ण नेपाली लाहुरे पृष्टभूमिलाई जीवन्त तरिकाले समेटिएको हुँदा यस कृतिलाई हरेक परिवारका व्यक्तिहरूले रामायणजस्तै घरघरमा राखेर आफू र आफ्ना पुस्ताले अध्ययन गर्दा राम्रो हुने कुरा पनि उनले बताए ।

त्यस्तै, अर्का समीक्षक उदय ठाकुरले बहुप्रतिभाका धनी मास्टर मित्रसेनको जीवनीमा आधारित यस कृति दैनिकी र यात्रा संस्मरणको ढाँचामा अगाडि बढेको र लेखक हितानले प्रथम विश्वयुद्धमा गोर्खाली पल्टनहरू उत्तर पश्चिम फ्रान्स र मेसोपोटामियामा गएर लडेको कथालाई बेजोड रूपमा प्रस्तुत गरेको कुरा प्रस्ट्याए । उपन्यासमा सुबेदार बहादुरसिंह बराललाई एक सहपात्रको रूपमा प्रस्तुत गर्दै तत्कालीन नेपाली समाजमा भाषा र संस्कृतिको जागरणका साथ यी विषयमा सुधार ल्याउन मित्रसेनसँग सहकार्य गरेको वास्तविकतालाई आख्यानको पाटोबाट सारगर्भित तरिकाले जीवन्त बनाएर प्रस्तुत गर्न सक्नु महत्वपूर्ण कार्य भएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा इन्डियन गोर्खा सेनाका निवृत जनरल, ब्रिगेडियर, कर्णेल, सुबेदारजस्ता उच्च पदका पदाधिकारीसहित साहित्यकार र साहित्यअनुरागीको बाक्लो उपस्थिति रहेको थियो ।आफ्नो लेखकीय मन्तव्यका क्रममा स्रष्टा विजय हितानले भने, ‘मजस्तो एक लाहुरेले लाहुरेका बारेमा लेखेको उपन्यासलाई लाहुरे र तीनका परिवारका सदस्यहरूले माया गरेर पढिदिनुहुने छ ।’ उपस्थित उच्च पद सम्हालेर सेवानिवृत भएका अफिसरहरूलाई आआफ्ना जीवनका अनुभवहरू लिपिमा समेटी साहित्यिक पुस्तकहरूको रूपमा प्रकाशन गर्नसमेत हितानले अनुरोध गरे । मास्टर मित्रसेनको जन्मस्थल भाग्सु धर्मशालामा पनि हालै पुगेर त्यहाँको गोर्खा एसोशियसनको तत्वावधानमा लाहुरेको रेलिमाईको प्रबर्धन गरेर फर्किंदै गरेको कुरासमेत हितानले स्मरण गरे ।

मगर समाज समितिका सचिव रवि रानाले यस कार्यक्रमलाई सञ्चालन गरेका थिए । उनै रानाको प्रमुख संयोजकत्वमा यस विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।कार्यक्रममा मास्टर मित्रसेनको– लाहुरेको रेलिमाई फेसनै राम्रो रातो रुमाल रेलिमाई खुकुरी भिरेको‘ गीतमा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा हितानले यस पुस्तक बिक्रीबाट सङ्कलित रकम आयोजक मगर समाज समिति र गोर्खाली सुधार सभालाई हस्तान्तरण गरेका थिए ।


२०८० कात्तिक २४ १३:०० बजे

प्रतिक्रिया