यताका उर्वर भूमि बाँझै, उताका पखेरामा उब्जनी

चिनियाँहरुले जमिन सरकारसँग भाडामा लिएर खेती गर्छन् । सरकारले दिने अनुदान, सरकारले नै गरिदिने बजारीकरणले कृषकहरु उत्साहित भएर कृषिकर्ममा लागेको सहजै अनुमान गर्न सकिन्छ

bimbonline नमस्कार शाह
२०८० कात्तिक १९ ०९:२३ बजे

 पाओसान, चीन ।

चीन विकासको सन्दर्भमा निकै जोडतोड र मेहनतका साथ लागिरहेको छ । चीनको चौतर्फी विकासको लेखाजोखा गरेर साध्य छैन ।उदाहरणको निम्ति पाओसानदेखि लिजिङ्पा पहाड पुग्न एक घण्टा समय लाग्छ । पाओसान उपत्यका जस्तो देखिन्छ भने लुजिङ्पा पहाडी क्षेत्र हो । निकै छोटो सडक यात्रामा पनि तीन वटा सुरुङ् मार्ग पार गर्नुपर्छ । एउटा सुरुङ पार गर्न दुई मीनेटदेखि पाँच मीनेटसम्म लाग्छ ।

नेपालमा पुल नदी, खोला र खोल्सामा मात्र बनाइन्छ । तर चीनमा सडकमार्गलाई सोझो बनाउन भीमकाय अग्ला पुलहरु बनाइएको पाइयो । तर सडक बनाउने नाममा डोजर लगाउँदै मोडैमोडयुक्त भिरालो सडक बनाउने गरेको देखेका हामी नेपालीलाई चीनको सडक विकासले आश्चर्यमय बनाउनु कुनै नौलो होइन ।

चीनमा सडक सोझो बनाउन पहाडलाई छेडेर सुरुङ् मार्ग निकालिएको छ । बाटो भिरालो वा उकालो हुने सम्भावना देखेपछि पुल बनाउने यहाँको विकासको पर्यायबाची नै भएको पाइयो ।तर नेपालमा पुल सिधा बनाउने गरेको देखिए पनि चीनमा बाङ्गो पुल बनाउने गरेको धेरै ठाउँमा देखिएको छ । छदेखि आठ लेनसम्मको सडक बनाउने चिनियाँ विकासे मोडल अनुकरणीय छ ।

लिजिङ्पा पहाड चीनबाट बर्मा जाने सडक मार्गमा पर्छ । भौगोलिक रुपमा खतरनाक भन्ने गरिएको नुजियाङ उपत्यका पार गरेपछि आउने उक्त भीरलाई अहिले उत्पादनयोग्य बनाइएको बताइन्छ । लुजियाङपाको उक्त भीरका कैयौं हेक्टर जमिनमा बगैंचा बनाइएको छ । सोही स्थानमा कफी र केरा खेती गरिएको छ । सो क्षेत्रमा ताई, लिसु, मियाओ, यी र हान जातीको बसोबास छ ।

कफी उत्पादनमा विश्वको २२ औं स्थानमा रहेको चीनले यसको उत्पादन बढोत्तरीमा लिएको आक्रामक रणनीतिले छिट्टै माथिल्लो स्थान लिने निश्चित झैँ छ । तर, हाम्रो सन्दर्भमा खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । चीनमा भीर, पाखाहरुमासमेत खेती गरेर त्यसको उत्पादनलाई विश्वमा निर्यात गरिएको पाइन्छ । लुजियाङ्पाको तल्लो भागमा सुन्दर नुचियाङ नदी देखिन्छ । त्यसमा लामो, अग्लो भीमकाय पुल हालिएको छ । किनारमा व्यवस्थित बस्ती छन् । ती बस्ती वरपरका फाँटमा पनि व्यावासायिक तरकारी खेती गरिएको छ ।

चिनियाँहरुले जमिन सरकारसँग भाडामा लिएर खेती गर्छन् । सरकारले दिने अनुदान, सरकारले नै गरिदिने बजारीकरणले कृषकहरु उत्साहित भएर कृषिकर्ममा लागेको सहजै अनुमान गर्न सकिन्छ ।सोही उपत्यकामा गरिएको कफी र केरा खेतीमा सयौं स्थानीय रोजगार छन् । यहाँको उत्पादन चीनका विभिन्न शहरलगायत विश्वका विभिन्न देशमा निर्यात हुने गरेको उनीहरु बताउँछन् ।



२०८० कात्तिक १९ ०९:२३ बजे

प्रतिक्रिया