भूकम्पका घाइतेहरुको उपचार सरकारले निःशुल्क गर्ने

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १८ १८:२४ बजे

काठमाण्डौ। जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिएका छन् ।

मन्त्री बस्नेतले भनेका छन्, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरुको उपचार त्यही गर्छौं, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौं । उपचारमा कुनै कमी हुने छैन ।’जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

यसैगरीजाजरकोट भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गर्ने जनाएको छ ।मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले एक विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिएका हुन् ।स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




२०८० कात्तिक १८ १८:२४ बजे

प्रतिक्रिया