जाजरकोट केन्द्रविन्दु भएको भुकम्पमा परि १२८ जना निधन

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १८ ०९:१८ बजे

काठमाण्डौ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको ज्यान गएको छ । ज्यान जानेको सँख्या थपिने सम्भावना रहेको छ।

जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश वताएकाछन । धेरै घाइते भएका र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ । 

यस्तै, रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।यस्तै, रुकुम पश्चिमको आठबिसकोट जाने सडक पनि दुई ठाउँमा पहिरो जाँदा अवरुद्ध छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिमका सयौँ घरगोठ भत्किएका छन् ।




२०८० कात्तिक १८ ०९:१८ बजे

प्रतिक्रिया